सञ्चारगृहमा प्रहरीको धाबाले शाहीकालीन निरङ्कुशताको झल्को दियो : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार कक्षमै प्रहरी प्रवेश गराई पत्रकारहरूलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै रिहा गर्ने सरकारी प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै त्यस्ता हर्कत तत्काल बन्द गर्न माग गरेका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति थापाले कानुनी प्रक्रिया र स्थापित संस्थागत प्रणालीलाई बेवास्ता गरी सञ्चारगृहमा सोझै प्रहरी परिचालन गर्ने शैलीले 'शाहीकालीन निरङ्कुशता'को झल्को दिएको बताएका छन्। विगतमा पनि शासकहरूमाथि प्रश्न उठ्दा सत्ताको दुरुपयोग गरी मिडियामाथि हस्तक्षेप हुने गरेको स्मरण गराउँदै उनले लोकतन्त्रमा यस्ता प्रवृत्ति दोहोरिनु अत्यन्तै चिन्ताजनक रहेको उल्लेख गरे।
कांग्रेस सधैँ प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा उभिने प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, “सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (रुल अफ ल) लत्याएर कानुनलाई शासनको औजार (रुल बाई ल) बनाउने दमनकारी प्रवृत्ति हो, जनदबाबपछि रिहाइ गर्नुभन्दा कानुन विपरीत पक्राउ र ह्यारेसमेन्ट सरकारले तत्काल बन्द गरोस्।”




तपाईको प्रतिक्रिया दिनुहोस