मधेस केन्द्रित दलहरू एकै ठाउँमा उभिने प्रयास
काठमाडौं । जनमत पार्टीले मधेस केन्द्रित दलहरूबीच मोर्चाबन्दी गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा.शरदसिंह यादव रहेका छन् ।
मधेस केन्द्रित दलहरूबीच संवाद र सहकार्यको पहल गर्न उक्त कार्यदल गठन गरिएको सो पार्टीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
पार्टीको केन्द्रिय सचिवालय समितिको निर्णयानुसार मधेस केन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि कार्यदलको जिम्मेवारी तोकिएको हो ।
पछिल्लो समय संविधान संशोधनको विषयवस्तु उठिरहेको सन्दर्भमा मधेश केन्द्रित दलहरुको साझा धारणा बनाउने क्रममा सहमतिको पहलका लागि कार्यदल गठन गरिएको सो पार्टीले जनाएको छ ।
यसअघि आइतबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरूसँग पार्टी एकीकरणका लागि समिति गठन गरेको थियो ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि एक वर्ष पहिले विचार र सिद्धान्त मिल्नेसँग एकताका प्रयास गरेको थियो । पछिल्लो समय मधेस केन्द्रित दलहरू एकै ठाउँमा उभिने प्रयास गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस