जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मृत्यु हुनेहरूमा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाकी ३० वर्षीया बिपना भण्डारी रहेका छन्।
दुर्घटनामा परी जुनिचाँदे गाउँपालिका–३ स्यालाका ३० वर्षीय दिलबहादुर भण्डारी, उनका ४ वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ।
आज बिहान करिब २:०० बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस