शेख हसिनालाई स्वदेश फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउने तयारी
बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट स्वदेश फिर्ता गराउन कानुनी प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। हसिना अगस्ट ५ मा भारतको नयाँदिल्ली पुगेपछि उनको पलायनले बङ्गलादेशमा गम्भीर राजनीतिक सङ्कट उत्पन्न भएको थियो।
विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनीतिक रूप लिँदा हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो। यसै घटनापछि उत्पन्न राजनीतिक अस्थिरतामा, हसिनालाई स्वदेश फिर्ता गराउने विषयमा बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको हो।
आईसीटीका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले हसिनालाई स्वदेश फिर्ता गराउन कानुनी प्रक्रिया सुरु गर्ने योजना रहेको बताए। हसिनामाथि उनले सन् २०१० मा स्थापना गरेको यही न्यायाधिकरणमार्फत युद्ध अपराध र मानव अधिकार उल्लङ्घनको आरोपमा मुद्दा दायर गरिएको छ।
शेख हसिनाको सरकारमाथि राजनीतिक विरोधीहरूलाई दमन गर्ने, मानव अधिकार उल्लङ्घन गर्ने, र सामूहिक नजरबन्दजस्ता गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ। सन् २०१३ मा बङ्गलादेश र भारतबीच हस्ताक्षर भएको सुपुर्दगी सन्धिअनुसार हसिनालाई स्वदेश फिर्ता ल्याउने प्रयास गरिने इस्लामले बताए।
तर, सुपुर्दगी सन्धिको एक खण्ड अनुसार 'राजनीतिक चरित्र' भएका अपराधका लागि सुपुर्दगी अस्वीकार गर्न सकिने प्रावधान रहेकोले यो प्रक्रियामा चुनौती आउने सम्भावना पनि रहेको बताइएको छ।
यसैबीच, अन्तरिम नेता र नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले हसिनालाई स्वदेश फर्किन आग्रह गर्दै सार्वजनिक वक्तव्य दिएका छन्। हसिनाको शासनकालमा भएका हिंसात्मक घटनामा ६०० भन्दा बढी मानिसहरू मारिएको राष्ट्रसङ्घको प्रारम्भिक प्रतिवेदनले उल्लेख गरेको छ।
मानव अधिकार उल्लङ्घन र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन पनि हसिनाको सरकारमाथि भइरहेको छ।
#Sheik_Hasina



तपाईको प्रतिक्रिया दिनुहोस