Techie IT
२०८३ जेष्ठ ९, शनिबार

माघ १८ देखि संसद्को हिउँदे अधिवेशन, सरकारको ढिलाइले विपक्ष असन्तुष्ट


सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिएका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच संसद्को हिउँदे अधिवेशनबारे छलफल भएको थियो । सिंहदरबारमा भएको छलफलमा माघ १८ गते अधिवेशन बोलाउने सहमति बनेको थियो । त्यसपछि बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मिति निश्चित गर्दै राष्ट्रपतिकहाँ सिफारिस गरेको हो ।

विपक्षी दलहरूको दबाब
संसद्को हिउँदे अधिवेशन ढिलो बोलाइएको भन्दै विपक्षी दलहरूले कडा आलोचना गरेका थिए । नेकपा माओवादी केन्द्रसहित सात विपक्षी दलले हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने चेतावनी दिएका थिए । शुक्रबार पत्रकार सम्मेलनमार्फत् विपक्षीहरूले अधिवेशन सुरु नहुँदा विधेयक र प्रि-बजेट छलफल रोकिएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

यो वर्ष संसद्को हिउँदे अधिवेशन गत वर्षभन्दा डेढ महिना ढिलो गरी बोलाइएको हो । यसबीच सरकारले पाँचवटा अध्यादेश जारी गरिसकेको छ, जसलाई लिएर विपक्षी दलहरूले सरकारमाथि निरन्तर दबाब बनाउँदै आएका थिए ।

अधिवेशन ढिलो हुँदा लामो समयदेखि पर्खाइमा रहेका विधेयक र संसद्को महत्त्वपूर्ण एजेन्डामा छलफल हुन नसकेको विपक्षको गुनासो छ ।

सरकारको सिफारिसअनुसार माघ १८ गतेबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन औपचारिक रूपमा सुरु हुनेछ । अब यो अधिवेशन सरकार र विपक्षीबीचका तीव्र राजनीतिक र कानूनी बहसको केन्द्रबिन्दु बन्ने अनुमान गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट