Techie IT
२०८३ असोज २७, मंगलबार

सुदूरपश्चिमको बजेट पारित, सभामा गिञ्जियो यस्तो गीत


प्रमुख प्रतिपक्षी दलको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। मङ्गलबार साँझ बसेको प्रदेशसभा बैठकले प्रतिपक्षी सांसदहरूको अनुपस्थितिमै सरकारको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक बहुमतले पारित गरेको हो।

सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेपछि प्रतिपक्षी बेन्च पूर्ण रूपमा खाली थियो। निर्धारित समयभन्दा ढिलो गरी साँझ ५ बजे सुरु भएको बैठकमा बजेटमाथि छलफलपश्चात् सभामुख भीमबहादुर भण्डारीले बजेटसँगै आर्थिक र विनियोजन विधेयक पारित भएको घोषणा गरे।

पूरक बजेट ल्याउने सहमतिमा बजेट पास
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेटलाई लिएर विवाद चर्किएपछि कात्तिकभित्रै पूरक बजेट ल्याउने सहमति भएको थियो। मङ्गलबार बसेको नेकपा संसदीय दलको बैठकले तत्काल प्रस्तुत बजेट पारित गर्ने र छुटेका तथा विवादित योजनालाई संसोधन गर्न कात्तिक २० गतेभित्र पूरक बजेट ल्याउने निर्णय गरेको थियो।

सभामुख भण्डारीले सबै दलको प्रतिनिधित्व हुने गरी सात सदस्यीय संसदीय अध्ययन समिति गठन गरिने र सोही समितिको प्रतिवेदनका आधारमा कात्तिक २० गतेभित्र पूरक बजेट प्रस्तुत गरिने जानकारी गराए।

सांसदहरूको गीतदेखि आक्रोशसम्म
बजेटमाथिको छलफलका क्रममा सत्तारूढ दलका सांसदहरूले सरकारप्रति तीव्र असन्तुष्टि पोखेका थिए। नेकपा सांसद लक्ष्मी विकले "उडायो सपना सबै हुरीले..." गीत गाउँदै आफ्नो सम्बोधन सुरु गरेकी थिइन्। बजेटमा केही सकारात्मक पक्ष हुँदाहुँदै पनि बाहिर नकारात्मक सन्देश प्रवाह भएकोमा उनले दुः ख व्यक्त गरिन्।

त्यसैगरी नेकपाकै सांसद रामेश्वर चौधरीले "छातीमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ..." भन्ने गीतको टुक्काबाट भाषण सुरु गर्दै बजेटले केवल आय-व्यय वृद्धि गर्ने मात्र नभई जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिएका थिए ।

नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले जनताका असीमित आकाङ्क्षाहरू एकैपटक सम्बोधन गर्न कठिन हुने बताए। बजेटको मूल्याङ्कन कसले कति रकम पायो भन्नेमा भन्दा पनि यसले जनताको जीवनमा कस्तो प्रभाव पार्‍यो भन्नेमा हुनुपर्ने उनको भनाइ थियो। योजना पार्नका लागि धनगढीका गल्लीहरू धाउने प्रवृत्ति दुःखद रहेको टिप्पणीसमेत उनले गरे।

पूर्वआर्थिक मामिलामन्त्री तथा सांसद नरेशकुमार शाहीले बजेटमा बाजुराको पर्यटकीय क्षेत्र रानीसैन नसमेटिएकोमा असन्तुष्टि जनाए। उनले बजेट बिग्रिनुमा आर्थिक मामिला मन्त्रालयका सचिवको भूमिका रहेको भन्दै यस विषयमा कडा प्रश्न उठाएका थिए। उनले सचिव सरुवा भएर पनि बजेट बनाउन मन्त्रालयमै टाँसियर बस्नु रास्वपा सरकार र प्रधानमन्त्री वालेन शाहको टिमले सहयोग गरेकाले बजेट बिग्रिनुमा बालेन टिमले जवाफ दिनुपर्ने बताएका थिए । 

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थ मामिलामन्त्री चक्र मल्लले मुख्यमन्त्री र अर्थमन्त्रीको निधारमा काँक्राको बिया टाँसेर अरू कसैले चोखो बन्ने प्रयास गर्न नहुने टिप्पणी गरेका थिए । बजेट निर्माणमा कतै छेडखानी वा अनियमितता भएको पाइए आफू कडा कारबाही गर्न तयार रहेको र संसदीय समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

छलफलको अन्त्यमा बजेट पारित भएको घोषणा गर्दा सत्तापक्षका सांसदहरूले ताली बजाएर समर्थन गरेका थिए भने प्रतिपक्षी बेन्च सुनसान बनेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट