राष्ट्रपति पौडेललाई सहिदपार्क विकासका लागि सहयोगको आग्रह
तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले राष्ट्रपति रामचन्द्र पौडेललाई सहिदपार्कको विकासका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।
सहिद दिवसको अवसरमा पुलिमराङ आइपुग्नुभएका राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै समितिले सहिदपार्कको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराउन अनुरोध गरेको हो।
समितिका अध्यक्ष एकबहादुर गुरुङका अनुसार बृहत् गुरुयोजनाअनुसार सहिदपार्कको पूर्ण विकासका लागि १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। उक्त रकम सरकारले विनियोजन गरिदिनुपर्ने माग समितिले राखेको छ ।
राष्ट्रपति पौडेललाई पुलिमराङको वर्तमान अवस्थाबारे जानकारी दिँदै समितिले सडक स्तरोन्नति, बिजुली व्यवस्थापन, पर्यटन प्रवर्द्धन, कृषि तथा स्थानीय आयआर्जनका क्षेत्रमा सहयोग पुर्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।
सहिद दिवसकै अवसरमा राष्ट्रपति पौडेल पुलिमराङस्थित सहिदपार्क पुगेर सहिदहरूको शालिकमा माल्यार्पण गर्नुभयो। स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख तथा विभिन्न दलका नेताहरूले उहाँलाई स्वागत गरेका थिए ।
पुलिमराङस्थित सहिदपार्कमा राणा शासन र पञ्चायती व्यवस्थाविरुद्ध लड्ने भरत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको अर्धकदको प्रतिमा स्थापना गरिएको छ । २०५१ सालमा स्थापना भएको सहिद स्मारक कोष समितिले २०६६ सालमा सहिदहरूको सालिक राखेको थियो ।
कार्यक्रम सम्पन्न भएपछि राष्ट्रपति पौडेल लमजुङको मध्यनेपाल नगरपालिका, सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहमा सहभागी हुने कार्यक्रम छ ।



तपाईको प्रतिक्रिया दिनुहोस