स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्घन गर्दै ‘रामपुर नगरपालिका’
रामपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उत्पादनमात्र होइन, ती सामग्रीको बजारीकरण र प्रवर्द्धनमा पनि महत्वपूर्ण सहयोग गरिरहेको छ । चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा नगरपालिकाले बिक्रीकक्ष स्थापना गरेर स्थानीय उत्पादनको प्रदर्शन र बिक्रीको व्यवस्था मिलाएको छ ।
कफी, आलुचिप्स, साबुन, पिताम्बरीदेखि मकैको खोस्टा र थाकलको पातबाट बनेका टोपी तथा झोला जस्ता सामग्रीले अवलोकनकर्ताको ध्यान खिचेका छन् । मेलामा आउने दर्शकले यी सामग्रीको जानकारी लिदै उत्सुकतासाथ खरिद गरिरहेको नगरपालिकाका कर्मचारी सञ्जु परियारले बताए ।
महिला उद्यमीलाई प्रोत्साहन गर्न कर्मचारी र उद्यमी पालो मिलाएर बिक्रीकक्षमा बस्ने व्यवस्था गरिएको छ। नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले यसले महिलामा आत्मविश्वास थपेको बताए ।
नगर उपप्रमुख बालकुमारी थापाका अनुसार महिलालाई सीपमूलक तालिम दिएर उद्यमीका रूपमा विकास गर्न नगरपालिकाले निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको छ। तालिमपश्चात् व्यवसाय सञ्चालन गर्न उपकरणजन्य सामग्री र आर्थिक सहयोग नगरपालिकाले उपलब्ध गराउँदै आएको छ ।
स्थानीय उत्पादन प्रवर्द्धन गर्न नगरपालिकाले ‘उपप्रमुख कोसेली घर’ सञ्चालनमा ल्याएको छ। महिलाहरूलाई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्दै नगरपालिकाले दर्ता प्रक्रियामा सहयोग पुर्याइरहेको छ ।
रामपुर नगरपालिकाको यो पहलले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै महिलाहरूलाई उद्यमशीलतामा अघि बढाउने वातावरण सिर्जना गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस