अखिल क्रान्तिकारीको प्राविधिक विशेष जिल्ला सम्मेलनमा निर्वाचन स्थगित
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्राविधिक शिक्षा विशेष जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलनमा ठूलो भाडमैलो भएको छ। विवादका कारण थापाथली क्याम्पसमा तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।
बिहीबारका लागि तय गरिएको निर्वाचन कार्यक्रमको मिति, स्थान र समय अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी अखिल क्रान्तिकारीका नेता रोशन थापा मगरले दिए। उनले भने, "निर्वाचन समितिका एक सदस्य र अध्यक्ष मण्डलका अर्का सदस्य उपस्थित नभएपछि कार्यक्रम स्थगित गरिएको हो। नयाँ मिति र स्थानको निर्धारण आगामी छलफलपछि गरिनेछ।"
अर्का एक विद्यार्थी नेताले अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव दिपेश पुनमाथि चुनाव भाँड्ने आरोप लगाएका छन्। उनका अनुसार, पुनले अध्यक्षका सशक्त उम्मेदवार सुगम ढकाललाई दिउँसोदेखि बन्धक बनाएका थिए। उनले भने, "ढकालको फोन अफ छ र हामीले उनलाई सम्पर्क गर्न सकेका छैनौँ। महासचिव र पुनले थापाथलीकै एक रेस्टुरेन्टमा ढकाललाई बोलाएर बन्धक बनाएका थिए। रातिसम्म ढकालको अवस्थाबारे पत्तो लाग्न सकेको छैन।"



तपाईको प्रतिक्रिया दिनुहोस