दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछन् । बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संघीय संसद्को सचिवालयले जनाएको छ ।
उक्त सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठकमा सचिव डा.सुरेन्द्र अर्यालले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका विधेयकका सम्बन्धमा प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६, विद्युतीय व्यापार विधेयक, २०८० पनि अर्यालले नै टेबुल गर्नेछन् । विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
त्यसैगरी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७९/०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथी सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।
राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ र प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस