भाइरल तस्बिरपछि विवादमा कफी विद करण, दर्शकले लगाए धोका दिएको आरोप
बलिउड निर्देशक करण जोहरको चर्चित च्याट शो ‘कफी विद करण’ स्क्रिप्टेड (पहिले नै तय गरिएको) भएको आरोप सामाजिक सञ्जालमा उठिरहेको छ । शोको नवौँ सिजनको छैटौँ भागमा अतिथि बनेकी अभिनेत्री शनाया कपूर मेकअप कक्षमा रहेको एउटा तस्बिर भाइरल बनेपछि प्रयोगकर्ताहरूले यस्तो प्रश्न उठाएका हुन् ।
भाइरल तस्बिरमा शनाया कपूर मेकअप गराइरहेकी देखिन्छिन् र उनको अगाडिको टेबलमा एउटा कागज राखिएको छ । उक्त कागजमा ठूला अक्षरमा ‘र्यापिड फायर : शनाया कपूर’ लेखिएको छ भने त्यसको तल साना अक्षरमा अरू विवरण पनि देखिन्छन् । यही तस्बिर बाहिरिएपछि इन्टरनेटमा तर्कवितर्क चर्किएको हो ।
धेरै दर्शकले असन्तुष्टि जनाउँदै आफूहरूले लामो समयदेखि स्वाभाविक, रमाइलो र तत्काल दिइने जवाफ (स्पन्टेनियस) ठान्दै आएको ‘र्यापिड फायर’ खण्ड पहिले नै तय गरिएको स्क्रिप्टअनुसार चल्ने हो कि भन्ने प्रश्न उठाएका छन् । कतिपय प्रयोगकर्ताले यसलाई दर्शक प्रतिको धोका भनेका छन् । यद्यपि अर्काथरी प्रयोगकर्ताले भने कुनै पनि च्याट शोमा अतिथिलाई संवेदनशील विषयमा पूर्वजानकारी दिइँदैमा पूरै कार्यक्रम स्क्रिप्टेड नहुने तर्क गरेका छन् ।
तस्बिरमा रहेको कागजको तल्लो भागमा लेखिएका साना अक्षर स्पष्ट रूपमा पढ्न नसकिने भएकाले त्यो वास्तवमै पूरा स्क्रिप्ट हो वा सामान्य तयारीको टिपोट मात्र हो भन्ने यकिन हुन सकेको छैन । यो विवादबारे कार्यक्रम प्रस्तोता करण जोहर र अभिनेत्री शनाया कपूर दुवैले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
आफ्नो वेब सिरिज ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ को चर्चाबिच शनाया ‘कफी विद करण सिजन ९’ मा पहिलो पटक सहभागी भएकी थिइन् । उक्त भागमा उनीसँगै अभिनेत्री अनन्या पाण्डे र अनन्या बिर्ला पनि अतिथिका रूपमा पुगेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस