Techie IT
२०८३ मंसिर ८, सोमबार

ठोस सम्झौताविना सकियो कोप–३१, जलवायु वित्तमा जुटेन सहमति

महासचिव एन्टोनियो गुटेरेसले सम्मेलनको नतिजाप्रति गहिरो निराशा व्यक्त


संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषय र जलवायु वित्तमा सहमति जुट्न नसकेपछि ठोस सम्झौताविना नै सकिएको छ ।

शुक्रबार सम्पन्न हुनुपर्ने सम्मेलनको वार्ता सहमति जुटाउने प्रयासमा आइतबार अबेरसम्म लम्बिएको थियो । अन्तिम मस्यौदामा कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको प्रत्यक्ष उल्लेख नगरिएपछि युरोपेली संघ (ईयू), प्रशान्त टापु राष्ट्र तथा अन्य देशहरूले कडा आपत्ति जनाएका थिए । त्यस्तै, जलवायु परिवर्तनको असरबाट प्रभावित गरिब राष्ट्रलाई धनी देशहरूले उपलब्ध गराउनुपर्ने वित्तीय सहयोगबारे पनि स्पष्ट प्रतिबद्धता आउन सकेन ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलनको नतिजाप्रति गहिरो निराशा व्यक्त गरेका छन् । जीवाश्म इन्धन उद्योगका शक्तिशाली स्वार्थ समूहहरूले विज्ञानलाई बङ्ग्याउने, नीतिगत निर्णयमा ढिलाइ गराउने र जलवायुसम्बन्धी कदम रोक्ने काम गरिरहेको उनले आरोप लगाए ।

दुई साताको लामो वार्तापछि आइतबार सार्वजनिक गरिएको अन्तिम मस्यौदामा ‘जीवाश्म इन्धन’ शब्दसमेत समावेश थिएन । त्यसमा सन् २०२३ को कोप–२८ सम्मेलनमा ऊर्जा प्रणालीलाई जीवाश्म इन्धनबाट क्रमशः टाढा लैजाने विषयमा भएको सहमतिलाई मात्र अप्रत्यक्ष रूपमा उल्लेख गरिएको छ ।

ईयूका प्रतिनिधि डाराग ओब्रायनले जीवाश्म इन्धनको उल्लेखविनाको जलवायु सम्झौता अस्वीकार्य रहेको बताए । पनामा र मार्सल आइल्यान्ड्सले पनि उक्त मस्यौदा जलवायु परिवर्तनको गम्भीर चुनौती सम्बोधन गर्न अपर्याप्त रहेको टिप्पणी गरेका छन् ।

यसअघि सार्वजनिक गरिएको प्रारम्भिक मस्यौदामा जीवाश्म इन्धनको उल्लेख ६ पटक गरिएको थियो । तर, तेल उत्पादक राष्ट्रहरूको कडा विरोधपछि अन्तिम मस्यौदाबाट ती सबै बुँदा हटाइएका हुन् । वार्ताका क्रममा साउदी अरेबियाले ऐतिहासिक हरितगृह ग्यास उत्सर्जनमा आफ्नो हिस्सा निकै कम रहेको तर्क गरेको थियो भने रुसले जीवाश्म इन्धनबाट तीव्र गतिमा टाढिँदा ऊर्जा अभाव र गरिबी बढ्न सक्ने चेतावनी दिएको थियो ।

सम्मेलनमा ‘जलवायु वित्त’ अर्को प्रमुख विवादको विषय बन्यो । गत वर्ष ब्राजिलमा सम्पन्न कोप–३० मा जलवायु परिवर्तनका असरबाट प्रभावित गरिब राष्ट्रलाई अनुकूलनका लागि दिइने वित्तीय सहयोग तीन गुणा बढाउने सहमति भएको थियो । तर, यसपटकको सम्झौतामा त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट रकम, समयसीमा वा मापनको आधार समावेश गरिएन । यसबाट धनी राष्ट्रहरू आफ्नो वित्तीय जिम्मेवारीबाट पन्छिन सक्ने भन्दै विकासशील देशहरूले चिन्ता व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट