राजा बन्ने चाहना परित्याग गरी चुनाव मार्फत नेता बन्न पुर्वराजालाई बामदेवको चुनौती

राष्ट्रियसभाको आजको बैठकमा सांसद वामदेव गौतमले पूर्वराजालाई सुझाव दिँदै भन्नुभयो कि, "राजा बन्ने चाहना परित्याग गरी चुनाव मार्फत नेता बन्नुहोस् ।" उनले नेपालको राजतन्त्र अब कुनै हालतमा फर्कन नसक्ने र जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य भएको बताए । गौतमले २०८४ को निर्वाचनमा भाग लिई प्रजातान्त्रिक पार्टी दर्ता गर्न र निर्वाचित भएर नेपाललाई समृद्ध बनाउने अवसर दिनुपर्ने सुझाव दिए ।
सांसद झक्कुप्रसाद सुवेदीले सरकारको हालको अध्यादेशलाई भूमाफिया, कालोबजारी, र राजस्व छली गर्ने स्वार्थ समूहको हितमा रहेको आरोप लगाउँदै, "आमजनताको पक्षमा नरहेको" भनेका छन् । उनले यस प्रकारको अध्यादेश पास गर्न नहुने धारणा व्यक्त गरे ।
सांसद नारायणदत्त मिश्रले कृषि अनुदानको अपचलन रोक्न र मल, बीउ, र खनजोतका लागि वडाबाट अनुदान दिने व्यवस्था गर्ने सरकारलाई आग्रह गरेका छन्। उनले "एकातर्फ मल-बीउ छैन, अर्कातर्फ सुरक्षाकर्मीले सीमा क्षेत्रमा ज्यादती गरिरहेका छन्" भन्नुहुन्थ्यो र अनुदानका विषयमा कडा ध्यान दिनुपर्ने बताए ।
सांसद युवराज शर्माले आर्थिक समृद्धि र जनजीविकामा सुधारका लागि राजनीतिक दलहरूले चुक्न नहुनेमा जोड दिए । उनले संघ र प्रदेश संरचनामा व्यापक सुधारका आवश्यकता औंल्याए ।
सांसद डा. बेदुराम भुसालले संसदीय प्रक्रिया र अन्तरवस्तुको दृष्टिकोणबाट भूमिसम्बन्धी अध्यादेशलाई समर्थन गर्न नसकिने बताए। उनले भूमिहीन र सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि विद्यमान ऐन पर्याप्त रहेको धारणा राखेका छन्।
सांसद मोहम्मद खालिदले भारतको उडिसास्थित विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युका विषयमा नेपाल सरकारले चालेको कूटनीतिक पहल र त्यसको परिणामबारे सदनलाई जानकारी गराउन माग गरे।
तपाईको प्रतिक्रिया दिनुहोस