Techie IT
२०८२ असोज ४, शनिबार

सामाजिक सञ्जालमार्फत घृणा फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरू ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताएका छन् । 

महान्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने भएकाले अधिकारको प्रयोगका नाममा समाजलाई विकृत बनाउने छाडातन्त्रलाई रोक्न कानुन ल्यायएको जनाए ।

उनले सरकारले सामाजिक सञ्जाल प्रयोगको अधिकारमा तलमाथि हुने गरी कुनै कानुन नबनाउने स्पष्ट गर्दै कार्यान्वयनको दस वर्ष पुगेको अवस्थाका संविधानको समीक्षा गर्दै आवश्यक संशोधन गरिने बताए ।

डिजिटल युगमा कुनै मुलुकको एक्लो प्रयासले अपराध नियन्त्रण प्रभावकारी नहुने भएकाले यसमा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान आवश्यक हुनेमा जोड दिँदै उनले डिजिटल प्रविधिको प्रयोग गरेर वा नगरेर अपराध हुन सक्ने र यसको अनुसन्धानका लागि विद्युतीय प्रविधि प्रयोगको सुविधाले अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदान सहज हुने बताए ।

प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले मानिसलाई सहज र सरल बनाइ सुख सुविधा दिने भएकाले यसको दुरुपयोगका कारण सभ्य समाजका लागि अपराध नियन्त्रण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै लोकतन्त्रमा सबै मानव जातिले सुविधा पाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको जनाए ।

‘बिसौँ शताब्दीले नयाँ नयाँ आविष्कार दिएको छ तर त्यसको दुरुपयोग पनि भएको छ । अपराधका क्षेत्रमा सङ्गठित प्रयासहरु भएका छन् । हामीले एआइ र डिजिटल प्रविधिको प्रयोग गरेर अपराध हुन नपाउने परिस्थिति निर्माण गर्र्नुपर्छ र अपराध भइहालेमा वस्तुनिष्ठ अनुसन्धान गरेर निष्पक्ष न्याय निरुपण गर्न सक्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले डिजिटल प्रविधिको सदुपयोग मात्र भइरहेको छैन । दुरुपयोग र अपराध कर्म पनि भइरहेको छ । अपराध रोक्न र प्रभावकारी न्याय दिन यस्ता सम्मेलनले भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट