कुलमानको पक्षमा माओवादी–राप्रपा, पदबाट हटाए सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संसदको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरणको विषय उठाएको छ ।
प्रतिनिधिसभाको आज (बुधबार)को बैठक आरम्भमै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलमानलाई सरकारले पटकपटक स्पष्टीकरण सोधेर दुःख दिइरहेको भन्दै सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्ने माग गरेका छन् । पाण्डेले सभामुखको रुलिङ नआएसम्म आफुहरूले संसद् अवरोध गर्ने बताएका छन् ।
उनले नेपालमा लोडसेडिङ हटाएको र लगातार घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएका कुलमानलाई हटाउन सरकारले अनेकौं प्रपञ्च गरिरहेको आरोप लगाउँदै आफुहरूले यसको विरोध गर्ने बताएका थिए ।
उनले भने, ‘कुलमानलाई निरन्तर सरकारले प्रष्टीकरण सोध्ने कुरा हामी बारम्बार सुनिरहेका छौं । उहाँको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हामीले सुनेका छौं । सरकार जसले एउटा राम्रोसँग काम गरेको, निरन्तर विषयवस्तुलाई बेवास्था गरिरहेका छ । जसले विद्युत् प्राधिकरणलाई नाफामा लगेको छ । आम नागरिकले राम्रो भनेका छन् । जनताले विद्युत् प्राधिकरणलाई राम्रो भनेका छन् । तर, सरकारले शून्य अंक दिएको भनेर हामीले सुनेका छौँ । सरकारको आफ्नै मन्त्रालयको मूल्यांकन नहेर्ने र ठीक ढंगले प्राधिकरणमा काम गरिरहेका व्यक्तिलाई शून्य अंक दिएको छ । त्यतिमात्र होइन् । लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि निरन्तर प्रतिशोध साँधिएको छ ।’
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले पनि कुलमानलाई हटाएमा सडक र सदनबाट प्रतिवाद गर्ने चेतवानी दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस