दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्ने भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्ने भएको हो ।
आज (बिहीबार) बस्ने प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक दिउँसो ठीक १ः०० बजे बस्नेछ ।

त्यस्तै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । उक्त सभाको बैठकमा सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले दिनेछन् ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन् ।
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यस्तै आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ उक्त सभाको बैठकमा प्रस्तुत गरिने महासचिव पाण्डेले बताए ।
राष्ट्रिय सभाको बैठक भने ठीक १ः१५ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस