पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्ड निकै आक्रामक, भने– ठूलो मूल्य चुकाउनुपर्ला, होस गर्नू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।
आज (मंगलबार) काठमाडौंमा आयोजित २७औँ सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पूर्वराजा र उनका समर्थकहरूले ठूलो चुकाउनुपर्ला भन्दै चेतावनी दिएका हुन् ।
‘फेरि अर्को मुर्खता नगरियोस्, होस् गर्नु । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुनसक्छ,’ उनले भने, ‘राजतन्त्र पुनस्स्थापना त असम्भव छ, तर यसले बहसले समाजवादको यात्रा फराकिलो बनाउँछ भन्ने मेरो बुझाइ छ ।’
प्रचण्डले पूर्वराजालाई लक्षित गर्दै संयम भएर बस्न आग्रह गरेका छन् । अन्यथा ठूलो मूल्य चुकाउनुपर्ने बताए । उनले अहिलेको गणतन्त्र स्थापना गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको भिलेनको भूमिका निर्वाह गरेको बताए ।
उनले भने, ‘भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्वपूर्ण छ, गणतन्त्र स्थापनाको गर्न । कथा फिलिम हिरोले मात्रै चल्दैन । भिलेन पनि चाहिन्छ । उसको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।’
तपाईको प्रतिक्रिया दिनुहोस