गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) उपत्यका प्रदेश कमिटीले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सृजना गर्ने निर्णय गरेको छ ।
आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा पछिल्लो विकासित घटनाक्रमका बारेमा आज समीक्षा गरिएको बताउँदै उनले गणतन्त्रको पक्षमा रहेका सबै दलसँग भेटघाट, छलफल र वार्ता गरी समन्वय गर्न बैठकले पार्टी केन्द्रलाई आग्रह गरेको उल्लेख गरे ।
देशको पछिल्लो राजनीतिक परिस्थिति संवेदनशील बन्दै गएको निष्कर्ष निकाल्दै बैठकले प्रतिगामी क्रियाकलापलाई असफल बनाउन समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको छ ।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा गर्ने आमसभामा अधिकतम जनसहभागिता जुटाउने निर्णय गरिएको प्रचार विभाग उपप्रमुख अर्यालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस