राजावादीको गतिविधिलाई नियन्त्रण गर्न प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ ।
यी तीन शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुर्याउने र राजावादीको गतिविधिबारे छलफल हुने भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनतासँग माओवादी केन्द्र हुलाकी मार्गअन्तर्गत तराई–मधेस जागरण अभियानमा छन् । उनी आज (आइतबार) साँझ काठमाडौं फर्किँदैछन् ।
उनी काठमाडौं पुगे लगत्तै टीआरसी र राजावादीको गतिविधिलगायतका विषयमा छलफल हुने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए । राजावादीहरूले गत फागुन २५ गते काठमाडौंमा भव्य प्रदर्शन गरेका थिए ।
चैत ६ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीबारे सोधेको प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग तत्काल छलफल गरेर टुंगोमा पुर्याउने बताएका थिए ।
चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल टीआरसीबारे छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस