नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र रेशम चौधरीबीच 'भद्र सहमति'
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीबीच लामो समयदेखिको विवादलाई मत्थर पार्दै 'भद्र सहमति' भएको छ।
काठमाडौंमा उनीहरूबीच भएको सहमतिले पार्टी र पारिवारिक सम्बन्ध दुवैलाई सुदृढ बनाउने उद्देश्य लिएको छ। दुईबीचको विवादले पार्टीलाई ठूलो क्षति पुगेको उनीहरूले समीक्षा गरेका थिए, जसका कारण अब मिलेर अगाडि बढ्नुपर्ने निश्कर्षमा पुगेका छन्।
स्रोतका अनुसार रेशम र रञ्जिता चौधरीले 'अलग-अलग पार्टी सञ्चालन गर्दा पार्टीलाई धेरै नोक्सानी भएको' निष्कर्ष निकालेका छन्। उनीहरूले मनमुटावले पारिवारिक जीवनमा पनि असर पारेको समीक्षा गर्दै 'जस्तोसुकै परिस्थितिमा पनि श्रीमान-श्रीमती मिलेर अगाडि बढ्ने' निर्णय गरेका छन्।
संयुक्त बैठकको घोषणा
सहमति पछि, दुवै पक्षका नेताहरू सम्मिलित संयुक्त बैठक असोज १८ र १९ मा आयोजना गर्ने घोषणा गरिएको छ। उक्त बैठकमा टीकापुरमा सम्पन्न पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यलाई बोलाइएको छ। बैठकको मुख्य उद्देश्य 'एक हौं र एक रहनेछौं' भन्ने सन्देश दिनु हो।
महाधिवेशनको विवाद
रेशम-रञ्जिताबीचको टकरावको मुख्य कारण पार्टीको प्रथम महाधिवेशन रहेको थियो। महाधिवेशनलाई मान्यता दिने वा नदिने र रेशम चौधरीलाई अध्यक्षको मान्यता दिने वा नदिने विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। यो विवादलाई समाधान गर्दै पार्टी एकतामा लाग्न दुवैले प्रतिबद्धता जनाएका छन्।
सहमतिको पत्रमा उल्लेख गरिएको छ, "पार्टीभित्रको आन्तरिक विवादका कारण स्थगित भएका बैठकहरू पुनः सुरु गर्दै, 'हामी एक हौं र एक रहनेछौं' भन्ने सन्देश सबैमा छर्दै महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि यो पत्र पठाइएको छ।"
बैठकको समय र स्थान यद्यपि तोकिएको छैन, र त्यसका लागि नेता गंगाराम चौधरीलाई सम्पर्क गर्न भनिएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस