किन आवश्यक छ विद्यार्थी राजनीति ?
कुनै पनि राष्ट्रको राजनीतिक,सामाजिक र शैक्षिक रूपान्तरणमा युवा शक्तिको भूमिका निर्णायक हुन्छ।
नेपालको सन्दर्भमा त विद्यार्थी आन्दोलनको इतिहास रगत र पसिनाले लेखिएको छ। २००७ सालको प्रजातन्त्र प्राप्तिदेखि २०६२/६३ को ऐतिहासिक जनआन्दोलनसम्म विद्यार्थीहरूले परिवर्तनको संवाहक बनेर आफूलाई प्रमाणित गरिसकेका छन्। विद्यार्थी राजनीति केवल सत्ताको खेल होइन,यो त समाज बुझ्ने, अन्यायका विरुद्ध बोल्ने र भविष्यको कुशल नेतृत्व तयार पार्ने एउटा पवित्र पाठशाला हो। त्यसैले,यसलाई 'नेतृत्व उत्पादनको नर्सरी' र 'सामाजिक चेतनाको आधारस्तम्भ' का रूपमा चिनिन्छ।
नेपालमा विद्यार्थी राजनीतिको जग बलिदानीमा उभिएको छ। वि.सं. १९९७ मा निरंकुशता विरुद्ध लड्दा गोली खाएर शहादत प्राप्त गर्ने गंगालाल श्रेष्ठ तिनै विद्यार्थी थिए, जसको सहादतले नेपालीको मन मुटुमा स्वतन्त्रताको बीउ रोप्यो। राणा शासन,पञ्चायत र राजतन्त्र ढाल्नका लागि भएका हरेक संघर्षको अग्रपंक्तिमा विद्यार्थी नै थिए। यो इतिहासले पुष्टि गर्छ कि देशलाई संकट पर्दा ढाल बन्ने शक्ति नै विद्यार्थी शक्ति हो।
जसरी एउटा नर्सरीमा बिरुवाहरूलाई विशेष रेखदेख र वातावरण दिएर हुर्काइन्छ, त्यसरी नै विद्यार्थी राजनीतिले एउटा सामान्य विद्यार्थीलाई भविष्यको कुशल नेता बन्ने आधार प्रदान गर्छ। क्याम्पस र विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिले विद्यार्थीमा आत्मविश्वास, सार्वजनिक वक्तृत्व कला र व्यवस्थापकीय क्षमताको विकास गर्छ। निर्वाचनमा भाग लिने, घोषणापत्र तयार पार्ने र जनमत बुझ्ने कार्यले विद्यार्थीलाई व्यावहारिक राजनीतिको ज्ञान दिन्छ।
अनुशासन, सामूहिक उत्तरदायित्व र समूहगत भावनाले एक सचेत नागरिक निर्माण गर्दछ।आजका अधिकांश स्थापित नेताहरू क्याम्पसको यही 'नर्सरी' मा हुर्किएर देशको बागडोर सम्हाल्ने ठाउँमा पुगेका हुन्।
विद्यार्थीहरू समाजका सबैभन्दा गतिशील र विवेकशील वर्ग हुन्। उनीहरू केवल किताबमा मात्र सीमित नभएर समाजमा व्याप्त कुरीति विरुद्ध पनि उभिन्छन्। महिला सहभागिताको जग वि.सं. २०१० सालमा शिक्षामा महिला सहभागिता मात्र ४.४% रहेको अवस्थामा महिलालाई शिक्षा र नेतृत्वमा ल्याउन विद्यार्थी आन्दोलनले नै ऐतिहासिक भूमिका खेल्यो।
कडा पितृसत्तात्मक सोच भएको समाजमा पनि महिलाहरूले नेतृत्व लिने आँट गरेर आफूलाई स्थापित गराए। यसमा विद्यार्थी आन्दोलनको ठुलो भुमिका रहेको छ। २०३७ सालको नमिता-सुनिता हत्याकाण्ड विरुद्ध देशका प्रमुख सहरहरू थर्काउने गरी खुला मैदानमा निस्कने तिनै जुझारु विद्यार्थी थिए। यसले समाजमा व्याप्त अपराध र भ्रष्टाचार विरुद्ध विद्यार्थी शक्ति नै आम नागरिकको आशाको केन्द्र हो भन्ने प्रमाणित गर्छ। त्यस्तै,संकटको सारथि बनेर भूकम्प,महामारी वा बाढी जस्ता प्राकृतिक विपत्तिमा उद्धार र राहत कार्यमा विद्यार्थी संगठनहरूको सक्रियता सधैँ प्रशंसनीय रहँदै आएको छ।
आजको विद्यार्थी राजनीतिमा दलीय छाया, शैक्षिक क्यालेन्डरमा हुने अवरोध र कहिलेकाहीँ देखिने उग्रता मुख्य चुनौतीका रूपमा रहेका छन्। हिजो हामीले व्यवस्था बदल्यौँ, तर अब अवस्था बदल्ने पालो आएको छ। अबको विद्यार्थी आन्दोलन केवल सैद्धान्तिक बहस र टायर बाल्ने कार्यमा सीमित हुनुहुँदैन। अबको राजनीति व्यावहारिक,सीपमूलक र शैक्षिक गुणस्तरमा केन्द्रित हुनुपर्छ।समाजमा व्याप्त जातीय विभेद, महिला हिंसा र भ्रष्टाचार विरुद्ध विद्यार्थी संगठनहरू नै पहरेदार बन्नुपर्छ।
विद्यार्थी राजनीति देश निर्माणको एउटा महत्त्वपूर्ण ऊर्जा हो। यसले एकातिर दक्ष जनशक्ति तयार पार्छ भने अर्कोतिर समाजलाई सचेत र जागरुक बनाइराख्छ।
विद्यार्थी संगठनहरू हटाउनुपर्छ भन्ने निर्णय आफैँमा आत्मघाती छ, किनकि यी संगठनहरू शैक्षिक निरंकुशता र माफियाकरण विरुद्ध लड्ने सबैभन्दा बलिया ‘सचेत पहरेदार’ हुन्। समस्या संगठनमा होइन,यसको कार्यशैलीमा छ, त्यसैले खारेजी होइन बरु दलीय दासताबाट मुक्त गरी यिनलाई अझ सशक्त,बौद्धिक र शैक्षिक मुद्दामा केन्द्रित बनाउनु आवश्यक छ।
जबसम्म विद्यार्थी संगठनहरू नीतिगत बहस र सामाजिक न्यायका लागि ढाल बनेर उभिन्छन्, तबसम्म मात्र लोकतन्त्र र शिक्षा क्षेत्र सुरक्षित रहन सक्छ। राजनीतिलाई शिक्षाको बाधक होइन,बरु पूरक बनाउनुपर्छ। जब विद्यार्थीहरू आफ्नो शैक्षिक कर्ममा अब्बल रहँदै सामाजिक न्याय र राष्ट्रको मुद्दामा व्यावहारिक रूपमा सक्रिय हुन्छन्, तब मात्र वास्तविक नेतृत्वको जन्म हुन्छ। मर्यादित, वैचारिक र सिर्जनात्मक विद्यार्थी राजनीति नै समृद्ध नेपाल निर्माणको बलियो जग हो।




तपाईको प्रतिक्रिया दिनुहोस