एसईईको नतिजा मंगलबार सार्वजनिक हुँदै
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले प्राविधिक समस्या नआए मंगलबारसम्म नतिजा सार्वजनिक गरिने जानकारी दिएकी छन् । उनले भनिन्, “नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै अवरोध नआए मंगलबारभित्र नतिजा सार्वजनिक हुन्छ ।”
यस वर्षको एसईई परीक्षा गत चैत दोस्रो सातादेखि सञ्चालन गरिएको थियो । परीक्षा सम्पन्न भएको करिब एक महिनामै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो । यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिएका थिए ।
परीक्षामा छात्राको सहभागिता छात्रभन्दा बढी रहेको बोर्डले जनाएको छ । परीक्षामा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा अन्य सात जना सहभागी भएका थिए ।
यसपटक जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले एसईई दिएका थिए । देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ । यस वर्ष परीक्षा सञ्चालन गरिएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस