Techie IT
२०८२ श्रावण १०, शनिबार

पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उभिएका सुरज खरेल एक वर्षका लागि निलम्बन


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर अभिव्यक्ति दिएका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल एक वर्षका लागि निलम्बनमा परेका छन् । संघले साउन ९ गते बसेको पदाधिकारी बैठकबाट खरेललाई निलम्बन गर्ने निर्णय गरेको हो।

रुपन्देहीको देवदह निवासी खरेलमाथि संगठनको विधान २०४७ (दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९-११, पोखरा, कास्कीद्वारा संशोधित) को धारा ४१ तथा ४२ (क) र (ख) अनुसार कारबाही गरिएको महासचिव रमेश चौलागाईंले जारी गरेको पत्रमा उल्लेख छ। सो निर्णयअनुसार खरेललाई सबै जिम्मेवारीबाट मुक्त गर्दै एक वर्षका लागि संघबाट निलम्बन गरिएको हो।

संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण माग्दा खरेलले गैरजिम्मेवार र अराजक शैलीमा जवाफ दिएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश सचिवालयको बैठक बसेको, तथा स्वेच्छाचारी र मनोमानी गतिविधि गरेको आरोप लागेको छ।

त्यस्तै, महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूप्रति अशिष्ट व्यवहार, प्रतिनिधिलाई धम्की, र सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वमाथि लाञ्छना लगाउने कार्यसमेत खरेलमाथि आरोप लगाइएको थियो। त्यसैले तीन दिनभित्र भौतिक रूपमा उपस्थित भई स्पष्टीकरण दिन भनिएको थियो।

तर, खरेलले भौतिक रूपमा उपस्थित नहुँदै इमेलमार्फत तीन पृष्ठ लामो स्पष्टीकरण पेश गरेका थिए । उनले सबै आरोप अस्वीकार गर्दै महाधिवेशनमा सुमन पुरीको समर्थन गरेपनि कसैप्रति अभद्र व्यवहार नगरेको र सामाजिक सञ्जालमा नेतृत्व परिवर्तनको कुरा उठाउनु लोकतान्त्रिक अभ्यास भएको जिकिर गरेका छन् ।

उनले भनेका छन्, "पार्टीलाई एकताबद्ध र बलियो बनाउन नेतृत्वको विकल्प खोज्नु कुनै अपराध होइन । म अधिवेशनबाट निर्वाचित भएको अध्यक्ष हुँ, मलाई हटाउन अर्को अधिवेशनले मात्र सक्छ । निलम्बनको निर्णय पूर्वाग्रहयुक्त र अन्यायपूर्ण छ । म संघमै सक्रिय रही काम गरिरहन्छु, आवश्यक परे समानान्तर कमिटीसमेत गठन हुन सक्छ।"

सुरज खरेल देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन् । हालै उनले फेसबुकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग खिचिएको तस्वीरसहित लेखेका थिए: "पार्टीको माया छ, र पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने आशा अझै बाँकी छ । अब मार्गप्रशस्त तपाईंले गर्नुपर्छ, जनता बोलिरहेका छन्, सुन्नुहोस् ।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट