रास्वपाको हस्ताक्षर क्याम्पेनमा तीन करोड भन्दा बढी हस्ताक्षर पुग्ला भन्ने डर छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई लक्षित गर्दै चलाइएको हस्ताक्षर अभियानलाई ‘राजनीतिक प्रतिशोध’को रूपमा चित्रित गर्ने प्रयासप्रति कटाक्ष गरेका छन्।
मंगलबार कैलालीको जानकी गाउँपालिकामा आयोजित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले हस्ताक्षर संकलन अभियानलाई व्यंग्य गर्दै भने, “तीन करोडभन्दा बढी हस्ताक्षर संकलन होला कि भन्ने डर लागेको छ।”
उनले थपे, “विभिन्न अपराध गरेपछि सरकारलाई गाली गरिन्छ । तर, सरकार अदालत होइन अदालतले थुन्छ कि छोड्छ, त्यो सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ, त्यसमा सरकारको के दोष?”
प्रधानमन्त्री ओलीले रवि लामिछानेको नाम नलिए पनि आफूले नै उनलाई राजनीतिमा ल्याएको र उपप्रधानमन्त्री तथा गृहमन्त्री जस्तो जिम्मेवारीमा पु-याएको उल्लेख गरे। उनले भने, “मैले नै राजनीतिमा ल्याएको, मन्त्री बनाएको, अनि अहिले प्रतिशोध साँधिएको भनिन्छ? केको प्रतिशोध? त्यसो भनिरहनु असभ्य व्यवहार हो।”
ओलीले नयाँ दलहरू लोकतन्त्रको नाममा प्रणालीविरुद्ध लागिरहेको आरोपसमेत लगाएका छन् । उनले भने, “अरूले लडेर ल्याएको लोकतन्त्रमा अरूले बलिदान दिई बनाएको व्यवस्थामा आज स्ट्याटस लेखेर, सामाजिक सञ्जालमा गाली गरेर आफूलाई क्रान्तिकारी देखाउने प्रवृत्ति बढेको छ।”
उनले सामाजिक सभ्यता, मर्यादा र संस्कृतिप्रति अपमानजनक व्यवहार देखाउँदै झूट र भ्रम फैलाउने प्रवृत्तिप्रति सचेत रहन आग्रह गरे। “हामी यस्ता भ्रमहरूमा ध्यान दिँदैनौं। हाम्रो देश हामी आफैंले विकास गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने ।
तपाईको प्रतिक्रिया दिनुहोस