Techie IT
२०८२ श्रावण १६, शुक्रबार

प्रधानमन्त्री ओली र सभापति देउवाबीच आज मन्त्री हेरफेरबारे छलफल हुने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पोखराको जग्गा विवाद र घुसकाण्डका कारण हटाइन सक्ने मन्त्रीको सूचीमा छन्


प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज मन्त्रीपरिषद् पुनर्गठनबारे छलफल हुने भएको छ।

छलफलको ठ्याक्कै समय तय नभए पनि प्रधानमन्त्री ओलीले दिउँसो देउवासँग भेटवार्ता गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डासहित भेटवार्ता हुनेछ।

प्रधानमन्त्री ओलीले आफ्नो चौथो कार्यकालको पहिलो वर्ष पूरा हुँदै गर्दा मन्त्रिपरिषद्मा व्यापक फेरबदलको तयारी गरेका थिए। तर प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसको असहमतिका कारण उक्त योजना अघि बढ्न सकेको छैन।

प्रधानमन्त्री ओलीले कमजोर कार्यसम्पादन भएका मन्त्रीहरूको सूची तयार गरी कांग्रेससँग केही चरण छलफल गरिसकेका छन्। तर कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिबाट सरकारको कामकाजको समीक्षा गर्दै हाल कार्यरत आफ्ना मन्त्रीहरूलाई यथावत् राख्ने निर्णय गरेपछि उक्त योजना अलपत्र परेको हो।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफ्नै दलका साथै कांग्रेस र लोसपाका केही मन्त्रीहरू हेरफेर गर्ने सोच बनाइसकेको स्रोतले जनाएको छ। यही विषयमा बिहीबार उनले देउवासँग छलफल गर्न लागेका हुन्। उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले देउवासँग कांग्रेसको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै सरकारको कार्यक्षमता अभिवृद्धिमा सहकार्य गर्न अपिल गर्ने छन्।

प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, “मन्त्री हेरफेर कांग्रेसको निर्णयसँग पनि जोडिएको छ। त्यसैले प्रधानमन्त्रीले आफैं अन्तिम संवाद गर्न लाग्नुभएको हो। कांग्रेसले नयाँ नाम दिए ठीकै हो, नदिए पनि केही दिनभित्रै मन्त्रिपरिषद्मा हेरफेर हुनेछ।”

सूत्रका अनुसार अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यथावत् रहने सम्भावना छ। केही मन्त्रालयमा अदलाबदल हुने संकेत पनि स्रोतले गरेको छ।

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको कार्यसम्पादनप्रति प्रधानमन्त्री ओली असन्तुष्ट देखिए पनि कांग्रेसभित्रको आन्तरिक समीकरणका कारण उनीबारे निर्णय हुन सकेको छैन। यद्यपि देउवासँग उनले यसको प्रस्ताव लैजाने तयारी गरेका छन्।

एमालेका मन्त्रीहरूको विषयमा भने ओलीलाई पूर्ण स्वतन्त्रता छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनलाई ध्यानमा राख्दै ओलीले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन केही मन्त्रीहरूलाई ‘रेड जोन’ मा राखेको बताइएको छ। ती मन्त्रीहरू को हुन् भन्ने विषयमा भने बालुवाटारले स्पष्ट गरेको छैन।

यसक्रममा रक्षा मन्त्री मानवीर राईको कार्यकाल एक वर्षमै टुंगिन सक्ने देखिएको छ। उक्त मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्ने सम्भावना रहेको स्रोतको दाबी छ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई हटाएर सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई औपचारिक पत्र दिइसकेको स्रोत बताउँछ। शुक्ललाई भण्डारीकै मन्त्रालयमा पठाउने तयारी भएको लोसपा स्रोतले पुष्टि गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पोखराको जग्गा विवाद र घुसकाण्डका कारण हटाइन सक्ने मन्त्रीको सूचीमा छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पनि आलोचनाको घेरामा छन् र फेरबदलको सम्भावनामा परेका छन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार यी मन्त्रालयहरूमा विगतमा मन्त्री भइसकेका केही अनुभवी नेतासँगै केही नयाँ अनुहारलाई अवसर दिन सकिनेछ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको स्थानमा भगवती न्यौपाने र शिक्षा मन्त्री विद्या भट्टराईको स्थानमा रघुजी पन्तलाई नियुक्त गरेर ओलीले फेरबदल प्रक्रिया सुरु गरिसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट