प्रचण्डको अगाडी माओवादी कार्यकर्ताले रुँदै भने– शहीद पनि वर्गीय हुन थाले

नेकपा (माओवादी केन्द्र) दोलखाले २०५९ साउन १८ मा राज्यपक्षद्वारा दोलखाको बोत्लेमा मारिएका १४ जना शहीदको सम्झनामा स्मृति दिवस मनाएको छ । पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा शहीद तथा घाइते परिवारहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित नेताहरूको उपस्थिति थियो । कार्यक्रममा दोलखाका नेता शंकर लामाले भावुक हुँदै शहीद विभेद प्रति गुनासो पोखेका थिए ।
बोत्ले घटनामा पत्नी गुमाएका लामाले कार्यक्रममा भावुक रुदै भने, “शहीद पनि वर्गीय हुन लाग्यो । हुनेखाने र नेताहरूका परिवार भए सम्झना गरिन्छ, तर साधारण शहीदहरूको वास्ता छैन ।”
उनले कार्यक्रमको उद्देश्य सर्वसाधारण शहीदहरूको स्मरण गराउन भएको बताउँदै भने, “शहीदहरूको अभिलेख तयार गरियोस्, सबैको स्मृति दिवस मनाइयोस्, त्यत्तिबेला मात्र पीडित परिवारको मन केही शान्त हुन्छ ।” लामाले पार्टीको आन्तरिक गुटबन्दी र पदलोलुप प्रवृत्तिले शहीद तथा कार्यकर्ताका परिवारहरू निराश भएको टिप्पणी गरेका थिए ।
उनले भने, “हामीलाई प्रशिक्षण दिने नेताहरू आफैं पदको लोभी हुनुहुन्छ । सातजना उपमहासचिव, सातजना उपाध्यक्ष राखेर के हुन्छ? हिजो एकजना महामन्त्री हुँदा पनि पार्टी चलेको थियो ।”
उनले पार्टीमा अहिले विकेन्द्रीकरण नभई केन्द्रीकरण आवश्यक भएको जिकिर गर्दै भने, “विगतमा पार्टी एकीकृत हुँदा जनयुद्ध सफल भएको थियो । अहिले गुटबन्दी र कमजोरीले आन्दोलन कमजोर भएको छ ।”
लामाले मिडियाले माओवादीले मात्रै १७ हजार मारेको भनेर प्रचार गर्ने तर राज्य पक्षले मारेका घटनाहरू ओझेलमा पारिएको गुनासो गरेका छन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले बोत्ले घटनामा मारिएका कार्यकर्ताहरूलाई श्रद्धाञ्जली दिँदै शहीद परिवारलाई सम्मान गरेका थिए ।
वि.सं २०५९ साउन १८ गते दोलखाको बोत्लेमा मध्यरातमा राज्यपक्षले गरेको कारबाहीमा तत्कालीन माओवादीका १४ जना कार्यकर्ताको हत्या भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस