३१ लाख मत घटेर ११ लाखमा झर्नुमा मेरो कमजोरी हो भने म आत्मालोचना गर्न तयार छु - उपमहासचिव जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजनको अफवाहलाई खारेज गरेका छन् । आज स्थायी कमिटी बैठकमा बोल्दै उनले आफूलाई जति धकेल्ने प्रयास गरे पनि माओवादी पार्टीमै अडिने स्पष्ट पारेका हुन् ।
“म पार्टी निर्माणका लागि प्रश्न उठाउँछु भनेर सजाय भोग्नुपर्छ भने त्यसका लागि पनि तयार छु। तर, पार्टी फुट्छ भन्ने दुष्प्रचारलाई म अस्वीकार गर्छु,” शर्माले भने।
उनले पार्टी नेतृत्वमैबाट विभाजनको चर्चा हुने गरेकोप्रति गम्भीर असन्तुष्टि जनाएका थिए । “३१ लाख मत घटेर ११ लाखमा झर्नुमा मेरो कमजोरी हो भने म आत्मालोचना गर्न तयार छु, हैन भने अरूले पनि आत्मालोचना गर्नुपर्छ,” शर्माले टिप्पणी गरे।
शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै मत घट्नेमध्ये जिम्मेवारी दाहालको पनि रहेको संकेत गरेका थिए । “यदि त्यो दायित्व मेरो मात्र हो भने म लिन्छु, होइन भने अरूले पनि जिम्मेवारी लिनुपर्छ,” उनले भने।
शर्माले पार्टी समाजवादको दिशामा अघि बढ्नुपर्नेमा सरकारमा बसेर उदारवाद र नवउदारवादको प्रवचन गरिएको भन्दै आपत्ति जनाए।
“म अर्थमन्त्री हुँदा किसान पेन्सन, बाँझो जमिन प्रयोग तथा कृषि भोलिन्टियर कार्यक्रम ल्याएँ, तर हाम्रै अध्यक्ष प्रधानमन्त्री हुँदा ती कार्यक्रमहरू खारेज गरियो,” उनले दाबी गरे।
संघीयता कार्यान्वयनमा समेत पार्टी नेतृत्व गम्भीर नभएको आरोप उनले लगाएका थिए । “यदि नेतृत्व इमान्दार हुन्थ्यो भने प्रदेशमा आज आफ्नै प्रहरी भइसक्थ्यो,” उनले भने।
उत्पीडित जाति, वर्ग, क्षेत्र र समुदाय माओवादीप्रति रुष्ट भएको उल्लेख गर्दै शर्माले पहिचानको मुद्दा ओझेलमा परेको बताए। “मैले गत स्थायी कमिटी बैठकमा यी मुद्दा पुनः उठाउने प्रस्ताव राखेँ, त्यसैको सिलसिलामा मोर्चाका सम्मेलनहरू भएका हुन्,” उनले प्रष्ट पारे।
शर्माले शान्ति प्रक्रिया र संविधान घोषणापछिको समयमा पार्टी पुनर्संरचना गर्न नसक्नु आजको प्रमुख समस्या भएको बताएका थिए । “हामी केन्द्रीकृत मानसिकताबाट ग्रसित भएका छौं । वैचारिक अस्पष्टता, राजनीतिक रणनीतिमा अन्योल, संगठनात्मक प्रणालीको संकट, वर्गीय दृष्टिकोणबाट विचलन तथा जनताको अपेक्षाअनुसार आर्थिक विकल्प दिन नसक्नु हाम्रा मूल समस्या हुन्,” उनले भने ।
शर्माले गम्भीर अध्ययन, छलफल र बहसबाटै समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । “यहाँ धेरै आरोप–प्रत्यारोप छन्, तर बहस नै समाधान हो,” उनले उल्लेख गरे।
कार्यविभाजनमा पनि अध्यक्षले गुटगत सोच अपनाएको आरोप लगाउँदै शर्माले वरिष्ठ नेताहरूलाई अपमान गरिएको बताए। “अध्यक्षले पूर्वाग्रही ढंगले कार्यविभाजन गर्नुभयो। एकताबाट आएका तथा अन्य सिनियरहरूलाई ह्युमिलिएट गरियो । केन्द्रीय समिति बैठकपछि अध्यक्षले धेरै ठाउँमा महाधिवेशन नगर्ने घोषणा गर्नुभयो,” शर्माले भने ।
शर्माले गत केन्द्रीय कमिटी बैठकमा गरिएको संकल्प अनुसार पार्टीले असारभित्र अभियान सञ्चालन गर्ने, मंसिरभित्र महाधिवेशन गर्ने, मोर्चालाई प्रभावकारी बनाउने निर्णय गरे पनि कार्यान्वयन फितलो भएको बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस