पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको छैटौं वरीयतामा

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)लाई नेकपा (माओवादी केन्द्र) ले पार्टीको छैटौं वरीयतामा राखेको छ । सक्रिय राजनीतिमा पुनरागमन गरेका पुनलाई माओवादीले केही समयअघि पार्टीको उपाध्यक्षमा मनोनीत गरेको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रिय पहलमा पुनलाई पुनः राजनीतिक भूमिकामा ल्याइएको बताइन्छ । पूर्वउपराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउने निर्णयप्रति माओवादीभित्र केही असहमति देखिए पनि नेतृत्वले उनलाई उपाध्यक्ष बनाइसकेको छ ।
हाल माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ र उपाध्यक्ष पुन पनि सो बैठकमा सहभागी छन् । यसै क्रममा माओवादीले आफ्नो आधिकारिक वेबसाइटमा पुनलाई छैटौं वरीयतामा राखेको छ ।
पार्टीको वेबसाइटअनुसार वरीयताक्रम यस प्रकार छ:
१. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ
३. उपाध्यक्ष कृष्णबहादुर महरा
४. उपाध्यक्ष अग्निप्रसाद सापकोटा
५. उपाध्यक्ष पम्फा भुसाल
६. उपाध्यक्ष नन्दबहादुर पुन
विद्यादेवी भण्डारी राष्ट्रपति भएका बेला पुनले दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस