प्रचण्ड
पार्टी एकताबद्ध भएको छ, गुटबन्दी अन्त्य गर्ने प्रतिबद्धतासहित अगाडि बढ्ने छौं : प्रचण्ड
बैठकले विशेष रूपमा तराई–मधेस क्षेत्रमा देखिएको खडेरी र पानी अभावप्रति चिन्ता व्यक्त गर्दै कृषकहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीभित्रको एकता मजबुत बनाउँदै गुटबन्दी र विभाजनको अन्त्य गर्न सामूहिक प्रतिबद्धताका साथ अघि बढिरहेको बताएका छन्।
मंगलबार सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पुरा गरिएको दाबी गरे।
‘देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका खेलेको हाम्रो पार्टीलाई एकताबद्ध राख्ने चुनौती हाम्रो अगाडि थियो,’ प्रचण्डले भने, ‘हामीले त्यो चुनौती जिम्मेवारीपूर्वक सम्बोधन गरेका छौं।’
उनले पार्टी एकढिक्का भएको पनि स्पष्ट पारेका थिए । ‘पार्टी एकताबद्ध भएको छ। हामीले गुटबन्दी र समूहगत प्रवृत्तिको अन्त्य गर्दै सामूहिक प्रतिबद्धता जनाएका छौं,’ उनले भने।
२६ बुँदे प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सम्पन्न
शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक आज मंगलबार सम्पन्न भएको छ । बैठकले समसामयिक राजनीतिक विषय र जनजीवनका समस्यालाई समेट्दै २६ बुँदे प्रस्ताव पारित गरेको हो।
प्रस्तावमा मुख्य रूपमा तराई–मधेसमा देखिएको पानीको संकट, महँगी, मलको अभाव, भ्रष्टाचार, कृषक र श्रमिकको समस्या, शिक्षा र प्रशासनिक विधेयकको ढिलाइ, दलित तथा महिला अधिकार लगायत विषयहरू उठान गरिएको छ।
बैठकले विशेष रूपमा तराई–मधेस क्षेत्रमा देखिएको खडेरी र पानी अभावप्रति चिन्ता व्यक्त गर्दै कृषकहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । चुरे क्षेत्रको दोहन, जलस्रोत व्यवस्थापनमा लापरबाही र वन अतिक्रमणका कारण उत्पन्न जलसंकटलाई गम्भीर भूगर्भीय संकटको रूपमा चित्रण गर्दै दीर्घकालीन योजना बनाउन आग्रह गरिएको छ।
त्यस्तै, शिक्षा, प्रहरी, र भूमिसम्बन्धी विधेयक, उखु तथा दुग्ध किसानका भुक्तानी, श्रमिकको न्यूनतम पारिश्रमिक, र विद्युत क्षेत्रमा सुधारका लागि ठोस कदम चाल्न बैठकले सरकारलाई आग्रह गरेको छ।
बैठकमा प्यालेस्टाइनमाथि भइरहेको आक्रमणको भर्त्सना गर्दै गाजा क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि प्रभावकारी कूटनीतिक पहल गर्न पनि माग गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस