नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताबारे कुनै औपचारिक छलफल भएको छैन: प्रवक्ता प्रकाण्ड
विप्लव समूहले प्रचण्डले समाजवादी मोर्चालाई आफ्नो पार्टी विस्तारको साधन बनाउन खोजेको भन्दै आपत्ति जनाइसकेको छ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताबारे कुनै औपचारिक छलफल नै नभएको स्पष्ट पारेका छन्।
माओवादी केन्द्रले हालै सम्पन्न स्थायी समिति बैठकमा विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको सार्वजनिक गरेपछि विप्लव समूहले आपत्ति जनाएको छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले तीन दिनसम्म चलेको स्थायी समिति बैठकले एकता गर्ने निर्णय लिएको जानकारी दिएका थिए।
“हाम्रो सहभागिता विना गरिएको निर्णय”
प्रवक्ता प्रकाण्डले माओवादीको निर्णयलाई एकपक्षीय भन्दै असन्तुष्टि जनाएका छन् । “माओवादीले पार्टी एकता गर्ने निर्णय गरेको रहेछ, त्यो उनीहरूको कुरा भयो, हामीसँग छलफल गरेर त्यो निर्णय लिइएको भने होइन,” उनले भने, “यो निर्णय एकतर्फी छ।”
उनले माओवादीको उक्त निर्णय राजनीतिक रणनीति मात्रै हुन सक्ने संकेत गर्दै भने, “हाम्रा केही साथीहरू मिसाउने गरी रणनीति बनाइएको हो भने त्यो दिवासपना मात्रै हुनेछ ।”
प्रकाण्डले आफूहरू सैद्धान्तिक रूपमा क्रान्तिकारी कम्युनिष्टहरूको एकताको पक्षमा रहेको स्पष्ट पारे । “हामीले क्रान्तिकारी कम्युनिष्ट पार्टीको कुरा गरेको हो, संसदीय कम्युनिष्ट होइन,” उनले भने, “क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि त अहिलेको माओवादी धेरै माथि उठ्नुपर्ने हुन्छ ।”
माओवादी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चालाई पार्टीमा मिसाउने योजना सुनाएको उल्लेख छ । सो मोर्चामा नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी सहभागी छन् ।
तर विप्लव समूहले प्रचण्डले समाजवादी मोर्चालाई आफ्नो पार्टी विस्तारको साधन बनाउन खोजेको भन्दै आपत्ति जनाइसकेको छ। विप्लवले मोर्चा विघटन गर्नुपर्ने मागसमेत अघि सारेका थिए।
प्रकाण्डले माओवादी स्थायी समितिको पार्टी एकता सम्बन्धी निर्णयलाई "हावामा तीर हानेको" संज्ञा दिँदै भने, “यो निर्णय कुन मक्सदका साथ आएको हो, थप बुझ्नुपर्ने हुन्छ। हाम्रो पार्टीले यसबारे आवश्यक छलफल गर्नेछ।”
यता माओवादी केन्द्रले भने नेकपासँगको एकता प्रक्रियालाई अघि बढाउने तयारी गरेको र छिट्टै वार्ता समिति गठन गर्ने योजना बनाइरहेको स्रोतले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस