Techie IT
२०८३ जेष्ठ १०, आइतबार

विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षा स्पष्ट गर्न महरको जोड


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधानले ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको स्पष्ट खाका विद्यालय शिक्षा विधेयकमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने बताएका छन्।

शुक्रबार बानेश्वरमा स्कुल फाउन्डेसनद्वारा आयोजित ‘शिक्षा सरोकार तथा विमर्श’ कार्यक्रममा बोल्दै उनले लामो समयदेखि प्रतीक्षामा रहेको विद्यालय शिक्षा विधेयक देशको शैक्षिक भविष्यका लागि गम्भीर विषय भएको उल्लेख गरे।

उनका अनुसार, कांग्रेसको शिक्षा विभागले केही महिनाअघि नै विधेयकसम्बन्धी आफ्ना संस्थागत सुझाव संसदीय समितिमा पेश गरिसकेको छ । कांग्रेसले सरोकारवालासँग व्यापक छलफल गर्दै विधेयक परिमार्जनका लागि पहल गरिरहेको उनले प्रष्ट पारे।

शिक्षाको गुणस्तर र विद्यार्थीको भविष्य सधैं केन्द्रमा रहनुपर्नेमा जोड दिंदै महरले अधिकार मात्र खोज्ने प्रवृत्तिले शिक्षा क्षेत्रमा समस्या बढाएको बताए। “आफ्नो अधिकार मात्र माग्दा कर्तव्यको सन्तुलन बिर्सिन्छ, जसले प्रणालीमा समस्या ल्याउँछ। मानव जीवनमा कर्तव्यबोधको ठूलो आवश्यकता छ,” महरले भने।

गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा कुल बजेटको कम्तीमा २० प्रतिशत विनियोजन गर्नुपर्ने धारणा उनले दोहोर्याए। साथै, शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिनु, प्रधानाध्यापकका लागि छुट्टै व्यवस्था गर्नु, भौतिक पूर्वाधार र तालिममा राज्य गम्भीर बन्नुपर्नेमा पनि उनले जोड दिए।

संविधानले प्रदान गरेका अधिकार गरिब, निमुखा र विपन्न वर्गले समेत अनुभव गर्न सक्ने बनाउनुपर्नेमा महरको विशेष जोड छ। कमजोर वर्गका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति अन्तर्गत आवासको व्यवस्था गर्नुपर्ने माग बढ्दो छ, र कांग्रेसले यस विषयमा गम्भीर छलफल गरिरहेको बुझिएको छ।

शिक्षामा समानता र पहुँच सुनिश्चित गर्न यस्ता प्रावधानहरू विधेयकमै समावेश गर्नुपर्ने आवाज अहिले बलियो रूपमा उठ्न थालेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट