एमालेमा कुनै गुट छैन, पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सिङ्गो एमाले एकताबद्ध: योगेश भट्टराई
नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अहिले पार्टीभित्र कुनै गुट नरहेको दाबी गरेका छन्। प्रेस चौतारी ताप्लेजुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिङ्गो एमाले एकताबद्ध रहेको बताएका हुन्।
भट्टराईले आगामी निर्वाचनसम्म देशको आवश्यकताका कारण नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा रहेको वर्तमान सरकार कायम रहने बताएका छन्। उनले भने, “देशमा विषम परिस्थिति सृजना भएकोले गत वर्ष नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको हो। सरकारले देशको आर्थिक स्थिति मजबुत बनाएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाएको छ, कतिपय कानुन संशोधन गरेको छ र विकासका कामलाई तीव्रता दिएको छ।”
उनले संविधान संशोधनको समयमा स्थानीय तहको सङ्ख्या घटाएर वडा सङ्ख्या बढाउनुपर्ने र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तथा संवैधानिक आयोगको सङ्ख्या घटाउनुपर्ने धारणा राखेका छन्।
भट्टराईले वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेको पनि बताए। उनले भने, “सरकारले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गरेको छ। थुप्रै आर्थिक ऐन संशोधन भएका छन्, केही नयाँ बनाइएका छन् र विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई संशोधन गरिएको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस