आन्तरिक विवाद समाधानका लागि समाजवादी स्थायी कमिटी बैठक भदौ २५ मा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधानका लागि यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ ।
पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीभित्रका आन्तरिक विवाद समाधान, आगामी रणनीति, समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीका विभिन्न अभियानबारे समीक्षा हुने छ ।
बैठकमा समाजवादी कार्यक्रम, साङ्गठनिक कार्यक्रम तथा सुशासन, रोजगारी र समृद्धिलाई लक्ष्य बनाएर सञ्चालन गरिएको समाजवादी अभियानले देशभर पारेको प्रभावकारितामाथि पनि समीक्षा गरिने अर्यालले जानकारी दिए ।
त्यस्तै, जनवर्गीय संगठनहरूको कार्यप्रगति, महासचिव घनश्याम भुसालको नेतृत्वमा गठन गरिएको कार्यदलले गरेका कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गरिने उनले बताए ।
साथै समाजवादी विचारधारा भएका दलहरूबीच सहकार्य, वामपन्थी शक्तिबीच एकता, र समाजवादी मोर्चालाई थप सशक्त बनाउने प्रस्ताव पनि बैठकमा छलफल हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस