गगन थापाको प्रश्न : “प्रचण्ड–बाबुराम किन अदालतलाई बेवास्ता गर्दै दौडिरहेका छन् ?”
रवि लामिछानेलाई राजनीतिक प्रतिशोध भएको हो भने उही अभियोगमा रहेका छविलाल जोशीमाथि के भएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईको अदालतप्रतिको सम्मानबारे प्रश्न उठाएका छन्।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि करिब ६ सय मानिस थुनामा रहेको उल्लेख गर्दै थापाले रवि लामिछानेलाई मात्र राजनीतिक प्रतिशोध भएको भन्दै दुई पूर्वप्रधानमन्त्री दौडिनु शंकास्पद रहेको टिप्पणी गरे।
“सहकारी ठगीमा कांग्रेस–एमालेका समेत थुप्रै मानिस थुनामा छन्, धरौटीमा छुटेका छन्, कतिपय फरार छन्। तर एउटा व्यक्तिलाई मात्र राजनीतिक प्रतिशोध भयो भन्दै कोलाहल मच्चाइएको छ,” थापाले भने, “अनि पूर्वप्रधानमन्त्रीहरू त्यसैको भेट गर्न दौडदै हुनुहुन्छ।”
उनले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध भएको हो भने उही अभियोगमा रहेका छविलाल जोशीमाथि के भएको हो भन्ने प्रश्न उठाए। सर्वोच्च अदालतले नै दोषी ठहर गर्दै थुनाबाहिर राख्न नमिल्ने आदेश दिइसकेको अवस्थामा राजनीतिक प्रतिशोध भन्न मिल्दैन भन्दै थापाले प्रचण्ड र भट्टराईको कदमप्रति व्यंग्यसमेत गरे।
“देशमा केही भएका छैनन्, केही हुँदै पनि हुँदैन, म आएमात्र हुन्छ भन्ने एउटा ‘छट्टु’को पछि लागेर दुई पूर्वप्रधानमन्त्री दौडिनु दुःखद हो,” उनले टिप्पणी गरे।
तपाईको प्रतिक्रिया दिनुहोस