विद्यालय शिक्षा विधेयक समितिबाट पारित, यी तीन दलको फरक मत

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले विधेयक अनुमोदन गरेको हो ।
समितिबाट पारित विधेयकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् । माओवादीले निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिसम्बन्धी व्यवस्थालाई उपसमितिको निर्णयअनुसार समावेश गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत प्रस्तुत गरेको छ । यसका लागि सांसद देवेन्द्र पौडेल, महेन्द्र राय यादव, रेशा शर्मा र ज्ञानु बस्नेत सुवेदीले लिखित मत दिएका छन् ।
त्यस्तै, रास्वपाले पूर्ण छात्रवृत्ति आवाससहित सुनिश्चित गर्नुपर्ने मागसहित तीन बुँदे फरक मत राखेको छ । सांसद सुमना श्रेष्ठले पार्टीको तर्फबाट मत प्रस्तुत गरेकी हुन् ।
राप्रपाले भने निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने विषयमा फरक मत राखेको छ । सांसद बिना जैसवालले पार्टीको तर्फबाट मत पेस गरेकी हुन् ।
फरक मत सहित समितिबाट पारित विधेयक अब आगामी संसद् बैठकमा पेस हुने भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस