एमालेले दोस्रो विधान महाधिवेशनको नारा टुंग्यायो, केन्द्रीय कमिटी बैठक भने स्थगित
भण्डारी पक्षका नेताहरूले यसलाई षड्यन्त्रपूर्ण भन्दै आलोचना गरेका छन् ।

नेकपा एमालेले आफ्नो दोस्रो विधान महाधिवेशनको नारा सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पार्दै गरेको राजनीतिक प्रतिवेदनमार्फत नारा टुंग्याइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य।” भन्ने मूल नारा रहेको छ।
तर, अध्यक्ष ओलीले विधान महाधिवेशनको तयारीसहित १३ भदौका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक भने स्थगित गर्ने निर्णय गरेका छन्।
स्थायी समिति सदस्य गौतमका अनुसार बैठक स्थगित हुनुका तीन मुख्य कारण छन्–
विधान संशोधन मस्यौदामा सुझाव संकलन
सदस्यहरूबाट सुझाव संकलन भइरहेकाले कुन स्वीकार गर्ने वा नगर्ने भन्ने तय गर्न समय लाग्ने।
प्रतिवेदनहरू अझै अधुरो
महासचिवको संगठनात्मक प्रतिवेदन अध्यक्षले हेर्न बाँकी छ। अनुशासन, निर्वाचन, लेखा परीक्षण र केन्द्रीय सल्लाहकार परिषद् लगायतका आयोगका प्रतिवेदन अझै तयार भइसकेका छैनन्।
प्रधानमन्त्री ओलीको व्यस्तता
१४ भदौमा तय भएको चीन भ्रमण र त्यसअघि संसद् बैठकमा जानकारी गराउनुपर्ने भएकोले बैठक सारिएको बताइएको छ ।
तर, बैठक स्थगित गर्ने निर्णयलाई एमालेभित्रकै इतर पक्षले सहज रूपमा स्वीकृति दिएको छैन । उनीहरूका अनुसार यो निर्णय “प्राविधिक भन्दा बढी राजनीतिक” हो।
भण्डारी पक्षका नेताहरूले यसलाई षड्यन्त्रपूर्ण भन्दै आलोचना गरेका छन् । स्थायी समिति सदस्य कर्ण थापाले “संगठनात्मक अराजकता देखिएको” टिप्पणी गरेका छन् । इतर पक्षका नेताहरूले विधान महाधिवेशनमा फरक मत राख्ने तयारी गरिरहेका छन्।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण, उमेर सीमा र दुई कार्यकालको प्रावधानबारे फरक प्रस्ताव लैजाने तयारी गरेका छन् ।
उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि असहमति जनाउँदै नोट अफ डिसेन्टमा छलफल माग गरेका छन् ।
तर, सचिवालय वा स्थायी कमिटी बैठक नबोलाइने भएपछि उनीहरूले केन्द्रीय कमिटीमै फरक मत प्रस्तुत गर्ने रणनीति बनाएका थिए । बैठक स्थगित भएपछि भने यो तयारी प्रभावित भएको देखिन्छ ।
सम्भावित कार्यतालिका
स्रोतका अनुसार अनिश्चित भनिएको बैठक अब १९ भदौमा बस्न सक्नेछ । सम्भवतः ललितपुरको गोदावरीमै बैठक बसेर प्रतिवेदन अनुमोदन गर्ने र भोलिपल्ट अर्थात् २० भदौदेखि सुरु हुने विधान महाधिवेशनमा पेश गर्ने योजना छ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार प्रतिवेदन छपाइमा कुनै समस्या आउने छैन। “एक–दुई घण्टामै चार–पाँच हजार प्रतिलिपि छपाइ हुन्छ,” उनले भने।
तपाईको प्रतिक्रिया दिनुहोस