कालापानी–लिपुलेक सीमा विवादबारे भारतसँग सिधा कुरा गर्ने पहिलो प्रधानमन्त्री म हुँ – प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलोपटक सिधा संवाद गर्ने प्रधानमन्त्री आफैं भएको दाबी गरेका छन्।
विराटनगरमा सम्पन्न १ नं. प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पछिल्लो पटक प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गर्दा मैले कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा उठाएँ। इतिहासमा पहिलोपटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारत सीमा समस्या संवादमार्फत समाधान गरिनेछ भनेर सार्वजनिक घोषणा गराएको हो। यो कुरा तपाईंहरूले बुझ्नुपर्छ, तल जनतालाई पनि बुझाउनुपर्छ।’
आफू प्रधानमन्त्रीको रूपमा भारतको भ्रमणको सन्दर्भमा भारतका प्रधानमन्त्रीसँग औपचारिक तथा सार्वजनिक रूपमा कालापानी, लिपुलेकजस्ता सीमा समस्या समाधानका लागि गरिएको प्रयासलाई अहिलेको सरकारले अगाडि बढाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘प्रधानमन्त्रीका रूपमा मैले गरेका सकारात्मक काम जनतालाई जानकारी दिनु पार्टीका कार्यकर्ताहरूको जिम्मेवारी हो, हाम्रै साथीहरूले हाम्रै उपलब्धिहरू नबोल्दा विकृति आउँछ भन्ने बुझ्न जरुरी छ ।’ प्रचण्डले भने।
पार्टीभित्र आलोचना र आत्मसमिक्षा अपरिहार्य रहेको उल्लेख गर्दै उनले वैचारिक अराजकता र अनुशासनहीनताले संगठनमा चुनौती थपिएको बताए। साथै, प्रदेश नेताहरूले राखेका सुझाव र चिन्तालाई गम्भीरतापूर्वक लिएको भन्दै आगामी दिनमा पार्टीले ठूला चुनौतीहरूको सामना गर्नुपर्ने चेतावनी समेत दिए।
‘समाजवादको तयारी गर्न हामीले अझ ठूला वैचारिक बहस र राजनीतिक संघर्ष पार गर्नुपर्छ,’ प्रचण्डले भने, ‘मार्क्सवादले भनेको आलोचना र आत्मसमिक्षा यही हो।’
तपाईको प्रतिक्रिया दिनुहोस