अध्यक्ष प्रचण्ड आज रुपन्देहीमा, टङ्कमणि बन्जाडेको सालिक अनावरण र पुस्तक विमोचन हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही पुग्ने भएका छन्।
माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्ड आज भैरहवा पुग्ने र त्यसपछि रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने छन्।
उनी बिहान १० बजे शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. राम प्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम तय भएको छ। सोही अवसरमा ‘स्व टङ्कमणि एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत प्रचण्डले गर्नेछन्।
बन्जाडे माओवादी आन्दोलनको सुरुवातदेखि नै भूमिगत रहेर सक्रिय भएका नेता थिए। २०७८ साल मङ्सिर ८ गते ५५ वर्षको उमेरमा सडक दुर्घटनामा परी उनको निधन भएको थियो। माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका बन्जाडे लामो समयसम्म रुपन्देही इन्चार्जको जिम्मेवारीमा रहँदै आएका थिए।
पार्टी र जनआन्दोलनमा उनले पु¥याएको योगदानको स्मरण स्वरूप सहिद स्मृति प्रतिष्ठान रुपन्देहीले उनको सालिक निर्माण गरेको हो। सालिक अनावरणसँगै उनको जीवन र योगदानमा आधारित पुस्तक विमोचन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।
यसैबीच प्रचण्डले बुटवल बेलवासमा हुने माओवादी केन्द्रको प्रदेश कमिटी बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस