मधेस प्रदेश सरकारमा राप्रपाको प्रवेशमा अध्यक्ष लिङ्देनको कडा आपत्ति, मन्त्रीलाई फिर्ता हुन निर्देशन
मधेस प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सहभागी भएको छ। नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा बनेको सरकारले राप्रपाबाट कञ्चन विच्छालाई मन्त्री नियुक्त गरेको हो।
तर सरकारमा आफ्नै पार्टीकी सांसद मन्त्री बनेकी विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कडा आपत्ति जनाएका छन्। उनले यसलाई पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको बताएका छन्।
‘मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ लिङ्देनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो।’
उनले मन्त्री बनेकी सांसदलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्। ‘अन्यथा विधानबमोजिम कारबाही गरिनेछ,’ लिङ्देनले चेतावनी दिएका छन्।
राप्रपाका संघीय तथा प्रदेश सभाका सांसदहरूले गत भदौ २४ गते सामूहिक राजीनामा दिएका थिए। सामूहिक राजीनामा दिएकामध्येकी एक सांसद अहिले मन्त्री बनेकी हुन्।
आइतबार राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
सिन्धुली र महोत्तरीको सिमानामा पर्ने एक होटलमा प्रदेश प्रमुख भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। मुख्यमन्त्री बनेपछि यादवले तीन जना मन्त्री नियुक्त गरेका छन्— एमालेबाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी, र राप्रपाबाट कञ्चन विच्छा।




तपाईको प्रतिक्रिया दिनुहोस