एमाले सचिवालय बैठक च्यासलमा सुरु, यस्ता छन् एजेन्डाहरु
नेकपा एमालेको सचिवालय बैठक बुधबार पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ। भदौ २३–२४ को आन्दोलनका क्रममा आगजनी भएकाले मर्मतसम्भार सम्पन्न भएपछि आज मुख्यालयमै बैठक राखिएको हो।
आजको बैठक आसन्न मंसिर २७–२९ मा हुने महाधिवेशन केन्द्रित रहनेछ। भावी नेतृत्वबारे पनि केही पदाधिकारीले आजै आफ्नो धारणा उठाउने तयारी गरेको स्रोतले जनाएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रस्ताव सचिवालयमा राख्ने तयारी गरेका छन्।
महाधिवेशनका लागि व्यवस्थापकीय तयारी तथा विभिन्न उपसमिति गठन गरिने जानकारी पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिए। यससँगै मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन, राष्ट्रियसभा तथा प्रतिनिधिसभा चुनावमा सहभागितालगायत विषयमा पनि सचिवालयमा विस्तृत छलफल भइरहेको छ।
एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवै बाटोबाट दबाब बढाउने रणनीति अघि सारेको छ। फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता मंसिर १० गतेभित्र गर्नुपर्ने भए पनि पार्टीले यसबारे अहिलेसम्म स्पष्ट धारणा नदिएको देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस