काठमाडौंमा सुरक्षा कडा: ३ हजारभन्दा बढी प्रहरी परिचालन
काठमाडौंका सडकमा आज तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।
एमाले बागमती प्रदेश कमिटीले शनिबार आयोजना गरेको जनप्रदर्शन र कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को भिडभाडलाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षा कडा गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार आवश्यक परेमा थप सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ। तीन हजार प्रहरी पर्याप्त नभए थप फौज परिचालन गरिने बताए।
एसपी भट्टराईले भने, “आवश्यक परे उपत्यकास्थित विभिन्न गण तथा गुल्मका टोलीसँग समन्वय गरी थप फौज परिचालन गरिनेछ। एमाले नेतृत्वले प्रदर्शन संयमित राख्ने प्रतिबद्धता जनाएको भए पनि सम्भावित घुसपैठ र सुरक्षा चुनौतीप्रति प्रहरी उच्च सतर्क अवस्थामा छ।”
प्रदर्शनका लागि विभिन्न स्थानबाट कार्यकर्ता जुलुससहित भृकुटीमण्डपमा जम्मा हुने भएकाले काठमाडौं जिल्लाभित्रका सबै प्रहरी युनिट बिहानैदेखि ड्युटीमा खटिएका छन्।
यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज एनपीएल अन्तर्गत दुई खेल खेलिँदै छन्। बिदाको दिन भएकाले दर्शकको अत्यधिक चाप र सुरक्षा चुनौती बढ्ने अनुमानका कारण कीर्तिपुर क्षेत्रमा पनि प्रहरीले उच्च सतर्कता अपनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस