देश जल्दा हेलिकोप्टरबाट भाग्नेलाई जनताले आगामी चुनावमा किनारा लगाउँछन् - डा. भीम रावल
रावलले ओलीसँगै नेपाली कांग्रेस पनि उक्त घटनाक्रममा आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न असफल भएको आरोप लगाए
नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनको संवेदनशील समयमा देश संकटमा हुँदा तत्कालीन नेतृत्वले जिम्मेवारीबाट पलायन भएको आरोप लगाएका छन्। उनले देशभर अशान्ति फैलिएको बेला ‘आफ्नो ज्यान जोगाउन’ हेलिकोप्टरबाट भाग्नेहरूलाई जनताले अन्ततः आगामी चुनावमा किनारा लगाउने बताए।
रावलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि देश संकटको अवस्थामा राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा समितिको बैठकसमेत नबोलाई हेलिकोप्टरमार्फत राजधानी छाडेको गम्भीर आरोप लगाएका हुन् ।
आगामी १३ मंसिरमा धनगढीमा हुने ‘एकता सन्देश सभा’ बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा रावलले २३ र २४ भदौमा देश गम्भीर संकटमा हुँदा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ओली तथा सत्तारूढ गठबन्धन नेपाली कांग्रेस दुवै निष्क्रिय रहेको दाबी गरेका छन् ।
रावलका अनुसार तत्कालीन प्रधानमन्त्री ओलीले अहंकारपूर्ण अभिव्यक्ति दिँदै आफूलाई ‘शक्तिशाली’ देखाउने प्रयास गरे पनि २३ र २४ भदौका घटनामा जिम्मेवारीपूर्ण उपस्थिति देखाउन नसक्नु नै उनी भाग्न बाध्य भएको प्रमाण भएको बताए ।
रावलले भने, “शक्तिशाली सरकार २०८४ सम्म अडिन्छ भनेर बारम्बार दाबी गरियो, तर २३ र २४ भदौको अकल्पनीय संकटमा त्यो सरकार न संस्थागत संरक्षामा सक्षम रह्यो, न व्यवस्थापिका न त कार्यपालिकाको भूमिका देखाउन नै । प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिको बैठकसमेत नराखी सेनाको हेलिकोप्टरबाट भागेको तथ्य जनताले बिर्सने छैन।”
रावलले ओलीसँगै नेपाली कांग्रेस पनि उक्त घटनाक्रममा आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न असफल भएको आरोप लगाए। उनका अनुसार, कांग्रेसले अहिले निर्वाचनमा जाने निर्णय गरे पनि राष्ट्रलाई संवेदनशील अवस्थातर्फ धकेल्ने प्रक्रियामा कांग्रेस नेतृत्वसमेत बराबरी जिम्मेवार छ।
रावलले २३ र २४ भदौका घटनाको जिम्मेवारी नेकपा एमाले र नेपाली कांग्रेसको शीर्ष नेतृत्व तथा त्यतिबेलाका सत्ताधारीहरूले लिनुपर्ने स्पष्ट दाबी गरे। उनले भने, “सरकारको प्रमुख कर्तव्य सीमा सुरक्षादेखि जनताको सुरक्षा सुनिश्चित गर्नु हो। तर तत्कालीन सरकार दुवै क्षेत्रमा असफल देखियो। जनताले अब आम निर्वाचनमार्फत असक्षम नेतृत्वलाई किनारा लगाउनेछन्।”



तपाईको प्रतिक्रिया दिनुहोस