तत्कालीन नेकपा माओवादी केन्द्रका नेता गुरुङद्वारा पार्टी परित्याग
तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता तथा तनहुँको शुक्लागण्डकी नगरपालिकाका पूर्ववडाध्यक्ष मनराज गुरुङले पार्टीबाट राजीनामा दिएका छन्। उनले मंगलबार माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङलाई राजीनामा पत्र बुझाएका हुन्।
उनले सार्वजनिक गरिएको पत्रमा “साबिक नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गर्दछु। महान् जनयुद्ध, सहिद, बेपत्ता, घाइते तथा गणतन्त्र स्थापनार्थ संघर्ष गर्ने अग्रजहरुप्रति सदैव सम्मान रहनेछ।” भन्ने उल्लेख गरेका छन् ।
जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनका पक्षमा उभिएका उनले पछिल्लो पार्टी एकीकरण प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए। एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीप्रति पनि उनी झनै रुष्ट रहेको स्रोत बताउँछ। गुरुङ शुक्लागण्डकी–१२ का पूर्व वडाध्यक्ष समेत हुन्।
राजीनामा पत्रबारे बोल्दै उनले भने, “राजीनामा पत्रमै स्पष्ट छ यो गठबन्धनमा मेरो सहमति छैन। केन्द्रीय महाधिवेशन र पुस्तान्तरणको आशा गरेको थिएँ, तर केन्द्रीय समितिका निर्णय लत्याएर जनताले नै अस्वीकृत गरेका दलहरूसँग एकीकरण गरिएको छ, यसमा मेरो सहमति छैन।”
गुरुङ तत्कालीन समयमा सबैभन्दा कान्छो उमेरमा वडाध्यक्ष निर्वाचित भएका नेतामध्ये एक हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस