हर्क साम्पाङको पार्टीले अरुदल सँग गठबन्धन नगर्ने
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आगामी निर्वाचनमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट जनाएका छन्।
बराहक्षेत्रको चक्रघट्टीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका थिए । उनका अनुसार, “हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र जनविश्वासको आधारमा चुनाव लड्छौँ। नेपालका कुनै पनि राजनीतिक दल ‘चोखो र जनउत्तरदायी’ छैनन्,” भनेर उनले टिप्पणी गरेका हुन् ।
अध्यक्ष साम्पाङले जाति, धर्म र वर्गका आधारमा टुक्रिएको देशलाई जोड्ने उद्देश्यसहित श्रम संस्कृति पार्टी अघि बढेको उल्लेख गर्दै सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृतिको विकास आफ्नो दलको मुख्य लक्ष्य भएको बताए।
उनका अनुसार, आफू नेतृत्व रहेको श्रम संस्कृति पार्टीले हाल देशभर संगठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको छ।
“जेन-जी आन्दोलनपछि ठूला भनिने दलहरू ‘पर्ख र हेर’ को अवस्थामा रहँदा श्रम संस्कृति पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ । जनताको बढ्दो विश्वास र समर्थनले हाम्रो दल राष्ट्रिय विकल्पका रूपमा स्थापित हुँदैछ,” अध्यक्ष साम्पाङले भने।



तपाईको प्रतिक्रिया दिनुहोस