Techie IT
२०८३ मंसिर ४, बिहीबार

अमेरिकी सभामुखमा इतिहास रच्ने संघारमा पहिलो अश्वेत नेता हकिम जेफ्रिज


अमेरिकी प्रतिनिधिसभाका डेमोक्रेट सांसदहरूले सभामुख पदका लागि हकिम जेफ्रिजलाई आधिकारिक उम्मेदवार चयन गरेका छन् । न्युयोर्कबाट प्रतिनिधित्व गर्ने ५६ वर्षीय जेफ्रिज सभामुख निर्वाचित भएमा अमेरिकी इतिहासमा उक्त पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति बन्नेछन् ।

बन्द कोठामा सम्पन्न पार्टीको गोप्य मतदानमा खसेका २६५ मतमध्ये जेफ्रिजले २५१ मत प्राप्त गर्दै आफ्नो उम्मेदवारी सुरक्षित गरेका हुन् । मतदानलगत्तै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पार्टीका सांसदहरूलाई धन्यवाद दिँदै उनले एकताबद्ध भएर साहसी परिवर्तन ल्याउने र अमेरिकी जनताका पक्षमा ठोस परिणाम दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभाका ४३५ सिटमध्ये कम्तीमा २५७ सिट जित्दै बहुमत हासिल गरेकाले जेफ्रिज सभामुख बन्ने लगभग निश्चित छ । आगामी सन् २०२७ जनवरी ३ मा नयाँ कंग्रेसको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको पूर्ण बैठकले औपचारिक मतदानमार्फत सभामुख चयन गर्नेछ ।

उता, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का दिँदै डेमोक्रेटहरूले माथिल्लो सदन सिनेटमा पनि ५६ सिटसहित नियन्त्रण कायम गरेका छन् । सभामुख बनेपछि जेफ्रिजले कानुन निर्माणका साथै ट्रम्प प्रशासनमाथिको निगरानी तथा छानबिनलगायत पार्टीका प्रमुख एजेन्डाको नेतृत्व गर्नेछन् । संवैधानिक व्यवस्थाअनुसार उनी उपराष्ट्रपति जेडी भान्सपछि राष्ट्रपतिको उत्तराधिकारीको दोस्रो वरीयतामा रहनेछन् ।

प्रगतिशील खेमाको असन्तुष्टि

पार्टीको मध्यमार्गी धारका नेता मानिने जेफ्रिजको विपक्षमा ककस मतदानमा ११ मत खसेको थियो । विपक्षमा मतदान गर्नेमध्ये सात नवनिर्वाचित प्रगतिशील सांसदहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो निर्णयको कारण स्पष्ट पारेका छन् ।

विज्ञप्ति जारी गर्नेमा डारियालिजा एभिला चेभलियर, एडम हमावी, फ्रेडरिक हेन्स, मेलाट किरोस, डोनभान म्याककिनी, क्रिस र्‍याब र क्लेयर भाल्डेज रहेका छन् । उनीहरूले ‘मेडिकेयर फर अल’ (सबैका लागि स्वास्थ्य बिमा), आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) को ज्यादती नियन्त्रण, राजनीतिमा पैसाको प्रभाव अन्त्य र गाजामा जारी नरसंहार रोक्ने विषयलाई मतदाताको प्रमुख जनादेशका रूपमा उल्लेख गरेका छन् ।

जेफ्रिजसँग भएका सकारात्मक संवादबाट केही प्रगति देखिए पनि आगामी कंग्रेसमा पार्टीको कार्यदिशा मतदाताका अपेक्षाअनुरूप बनाउन अझै ठोस प्रतिबद्धता आवश्यक रहेकाले आफूहरूले विपक्षमा मतदान गरेको उनीहरूको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट