Techie IT
२०८३ मंसिर ३, बुधबार

एउटै टेबलमा विश्वका तीन महाशक्ति : ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसिया भ्रमणमा निस्किएसँगै विश्व राजनीतिमा एउटा महत्त्वपूर्ण कूटनीतिक सरगर्मी बढेको छ । भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पहिलोपटक एउटै टेबलमा बसेर त्रिपक्षीय वार्ता गर्ने तयारीमा जुटेका छन् ।

तीन आणविक शक्ति सम्पन्न राष्ट्रका प्रमुखहरूबीच हुन लागेको यो ऐतिहासिक भेटवार्ता आगामी नोभेम्बर १९ मा चीनको दक्षिणी सहर सेन्जेनमा तय भएको छ । एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसर पारेर हुन लागेको यस बैठकलाई विश्व शक्ति सन्तुलनको दृष्टिकोणले अत्यन्तै अर्थपूर्ण रूपमा हेरिएको छ ।

मनिलामा क्वाड बैठक, अबको गन्तव्य सेन्जेन
नोभेम्बर १६ मा वासिङ्टनबाट प्रस्थान गरेका राष्ट्रपति ट्रम्प भ्रमणको पहिलो चरणमा फिलिपिन्सको राजधानी मनिला पुगेका छन् । त्यहाँ उनले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री सानाए ताकाइची र अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँगै 'क्वाड' (QUAD) शिखर बैठकमा सहभागिता जनाए ।

अमेरिका, भारत, जापान र अस्ट्रेलिया सदस्य रहेको उक्त बैठकमा हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा, आर्थिक सहकार्य, कृत्रिम बुद्धिमत्ता (एआई) र आपूर्ति शृंखलाको सुरक्षाबारे गहन छलफल भएको छ । मनिला बसाइपछि ट्रम्प सिधै चीनको सेन्जेन जाने कार्यक्रम छ । त्यहाँ एपेक सम्मेलनमा सहभागी हुनुका साथै उनले चिनियाँ राष्ट्रपति सीसँग छुट्टै द्विपक्षीय वार्ता र रात्रिभोज (कार्यभोज) गर्नेछन् । त्यसपश्चात् रुसी राष्ट्रपति पुटिनसहितको त्रिपक्षीय बैठक बस्नेछ ।

आणविक निशस्त्रीकरण मुख्य एजेन्डा, चीन अनिच्छुक
ह्वाइट हाउसका अनुसार त्रिपक्षीय बैठकमा ट्रम्पले विश्वमा आणविक हतियारको विस्तार रोक्ने र विद्यमान भण्डार घटाउने प्रस्ताव मुख्य रूपमा उठाउनेछन् । विश्वमै सबैभन्दा ठूलो आणविक भण्डार रहेका अमेरिका र रुससँगै चीनले पनि पछिल्लो समय आफ्नो आणविक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको अमेरिकी दाबी छ । सोही कारण तीनै देशबीच आणविक नियन्त्रणबारे संवाद अपरिहार्य रहेको ट्रम्प प्रशासनको ठम्याइ छ ।

यद्यपि, बेइजिङ भने यस विषयमा प्रत्यक्ष त्रिपक्षीय छलफल गर्न त्यति इच्छुक देखिएको छैन । अमेरिका र रुसको तुलनामा आफ्नो आणविक हतियारको संख्या निकै कम रहेको चीनको तर्क छ । अमेरिकी अधिकारीहरूले पनि यस बैठकबाट तत्कालै कुनै ठोस सम्झौता भइहाल्ने अपेक्षा नरहेको स्पष्ट पारेका छन् । उनीहरूका अनुसार यो भेटवार्ता तीन महाशक्तिबीच आणविक हतियार नियन्त्रणका लागि उच्चस्तरीय संवाद थालनी गर्ने प्रारम्भिक प्रयास मात्र हो ।

बैठकमा इरानसँग जोडिएको द्वन्द्व र मध्यपूर्वको बढ्दो तनावले पनि प्राथमिकता पाउने अमेरिकी अधिकारीहरूले जनाएका छन् । इरान मामिलामा अमेरिका, चीन र रुसका आ–आफ्नै रणनीतिक स्वार्थ रहेकाले शीर्ष नेताहरूको यो छलफलले मध्यपूर्वको आगामी दिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषण गरिएको छ ।

तर, रुसले युक्रेनमा जारी राखेको युद्ध भने त्रिपक्षीय बैठकको एजेन्डामा नरहने अमेरिकी पक्षले प्रस्ट पारेको छ । युक्रेन युद्धबारे अमेरिकाले रुससँग छुट्टै कूटनीतिक संवाद गरिरहेकाले त्यसमा चीनलाई संलग्न गराउनु उपयुक्त नहुने वासिङ्टनको तर्क छ । साथै, सेन्जेनमा ट्रम्प र पुटिनबीच छुट्टै द्विपक्षीय भेटवार्ताको कार्यक्रम समेत तय भएको छैन ।

ट्रम्पको चीन भ्रमणको अर्को महत्त्वपूर्ण पाटो अमेरिका–चीन व्यापारिक सम्बन्ध हो । दुई देशबीच केही समयअघि व्यापारिक तनाव मत्थर पार्ने सहमति भए पनि प्रविधि, दुर्लभ खनिज (रेयर अर्थ मिनरल्स) र अमेरिकी चिप निर्यातका विषयमा मतभेद कायमै छ । विशेषगरी उन्नत एआई प्रविधिमा प्रयोग हुने अमेरिकी चिप चीनलाई बिक्री गर्न वासिङ्टनले लगाएको कडा प्रतिबन्धप्रति बेइजिङले कडा आपत्ति जनाउँदै प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिँदै आएको छ ।

ट्रम्प र सीबीचको द्विपक्षीय वार्तामा अघिल्ला व्यापारिक सहमतिको कार्यान्वयन, दुर्लभ खनिजको आपूर्ति र प्रविधि विवाद सुल्झाउने विषयमा छलफल केन्द्रित हुनेछ । ट्रम्पसँगै टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्क पनि चीन भ्रमणमा सहभागी हुँदैछन् । यद्यपि, उनी सी र पुटिनसँगको औपचारिक त्रिपक्षीय बैठकमा भने सहभागी हुने छैनन् ।

विश्व राजनीतिमा नयाँ अध्यायको संकेत ?
युक्रेन युद्ध, मध्यपूर्वको अशान्ति, अमेरिका–चीन व्यापार प्रतिस्पर्धा र आणविक होडबाजीका कारण पछिल्लो समय विश्व राजनीति निकै जटिल मोडमा पुगेको छ । अन्तर्राष्ट्रिय सुरक्षा, व्यापार, ऊर्जा र सैन्य सन्तुलनमा प्रत्यक्ष प्रभाव राख्ने तीन प्रभावशाली शक्तिहरू एउटै मञ्चमा उभिनुलाई विश्व समुदायले निकै चासोका साथ हेरेको छ ।

कतिपय विश्लेषकहरूले सेन्जेन भेटवार्तालाई दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिनबीच भएको ऐतिहासिक 'याल्टा सम्मेलन' सँग तुलना गर्न थालेका छन् । तर, रुसी राष्ट्रपति कार्यालय (क्रेमलिन) ले भने यस्तो तुलना अस्वीकार गरेको छ । तीन नेताबीचको बैठकले विश्वका अन्य मुलुकमाथि कुनै पनि सम्झौता वा निर्णय थोपर्ने उद्देश्य राख्न नहुने रुसको प्रतिक्रिया छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट