Techie IT
२०८२ मंसिर १८, बिहीबार

कारागारभित्रैबाट रास्वपामा कसरी हाबी हुँदैछन् रवि लामिछाने ?

रास्वपाका केही नेताहरूले पार्टी ‘नक्खुबाटै सञ्चालन भइरहेको’ आरोप लगाउँदै नेतृत्वबीच एकताका विषयमा पनि फरक–फरक चासो रहेको दाबी गरेका छन्।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच मंसिर १४ गते भएको एकता कार्यक्रममा सभापति रवि लामिछानेले नक्खु कारागारबाट तीन सन्देश पठाएका थिए। पार्टी उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्ले मार्फत पठाइएका सन्देशमा उनले एकतामा आएका नेताहरूप्रति स्वागत व्यक्त गर्दै ‘कुलिङ पिरियड’ बस्न सुझाव मात्र होइन, मिडिया ट्रायलबाट टाढा रहन पनि चेतावनी दिएका थिए। 

सहमतिका पाँचबुँदे ड्राफ्ट रविलाई सुनाउँदा उनी निकै उत्साहित देखिएको वाग्लेले सभामा खुलाएका थिए। सोही दिन संवाद समितिका सहसंयोजक शिशिर खनाल पनि कारागार पुगेका थिए।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि आठ महिनादेखि थुनामा रहेका लामिछानेले कारागारमै बसेर पार्टीका धेरै निर्णयमा प्रभाव जमाइरहेको आरोप लाग्दै आएको छ। कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्यलगायत सचिवालय सदस्यहरू नियमित रूपमा कारागार पुगेर पार्टीका निर्णय, एजेन्डा र आगामी योजनाबारे ब्रिफिङ गर्दै उनको सहमति लिने गरेका छन्। रास्वपाका केही नेताहरूले पार्टी ‘नक्खुबाटै सञ्चालन भइरहेको’ आरोप लगाउँदै नेतृत्वबीच एकताका विषयमा पनि फरक–फरक चासो रहेको दाबी गरेका छन्।

जेनजी आन्दोलनपछि रास्वपाभित्र असन्तुष्टिको स्वर झन् तीव्र देखिएको मात्र छैन नेताहरुले पार्टी छोड्ने लहर नै चलेको छ । पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले नेतृत्वले गल्ती स्वीकार नगर्ने र आलोचकहरूलाई मिडिया ट्रायल गर्ने आरोप लगाउँदै पार्टी छाडिसकेकी छन् । तत्कालीन प्रमुख सचेतक सन्तोष परियारले समेत नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी त्यागेर अहिले प्रगरिशिल लोकतान्त्रिक पार्टीमा आबद्ध छन् । डा. तोसीमा कार्कीले प्रत्यक्ष आरोप नलगाए पनि पार्टीको विधि र प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै आएकी छन्। 

यसबीच, पार्टी नेतृत्वमा रविको अत्यधिक प्रभाव रहेको आरोप सहमहामन्त्री विपिन आचार्य र वार्ता समितिका संयोजक पुकार बमले अस्वीकार गरेका छन्। उनीहरूका अनुसार, सभापतिसँग परामर्श हुनु स्वाभाविक भए पनि पार्टी विधि–पद्धति अनुसार नै चलिरहेको बताएका छन् । महामन्त्री कवीन्द्र बुर्लाकोटीले समेत अन्य दलसँग एकता नहुनुमा रविको अवरोध भएको भन्ने आरोप अस्वीकार गर्दै ‘नेतृत्व कब्जा गर्ने प्रस्ताव’ आएको कारण एकता सम्भव नभएको बताएका छन् ।

‘सीधा कुरा जनतासँग’ का प्रस्तोता रहेका लामिछानेले २०७९ असार ७ मा रास्वपा स्थापना गरेका थिए। पार्टी स्थापना भएको पाँच महिनामै ११ लाखभन्दा बढी समानुपातिक मत र २१ सिट जित्दै रास्वपा वैकल्पिक राजनीतिक शक्ति बनेको थियो।

तर सभापति लामिछाने ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, दोहोरो नागरिकता र राहदानी प्रकरणमा मुछिँदै जाँदा अहिले पार्टीभित्रै ‘रविको विकल्प खोज्नुपर्ने’ आवाज उठ्न थालेको छ। जेनजी विद्रोहका क्रममा भदौ २४ गते कार्यकर्ताले जेल तोडेर उनलाई बाहिर निकालेको आरोपसमेत लागेपछि उनी पुनः थुनामा फर्किएको घटनाले पार्टीको नेतृत्व विवाद झन् बल्झिदैँ गएको देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट