बदला लिने दाउमा चितवन, पुनरागमनको खोजीमा सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो महत्त्वपूर्ण भिडन्त साँझ ५ बजे सुरु हुनेछ ।
उपाधि भिडन्त (फाइनल) मा स्थान सुरक्षित गर्न दुवै टोली जितको उच्च लक्ष्यसहित मैदान उत्रनेछन् । आजको विजेताले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्सको सामना गर्नेछ ।
चितवन हिजो भएको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा आइपुगेको हो । उता, सुदूरपश्चिम भने पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि फाइनल प्रवेशको दोस्रो अवसरका रूपमा आजको खेल खेल्दैछ ।
यस सिजनको समूह चरणको भेटमा सुदूरपश्चिमले चितवनमाथि ५ विकेटको जित निकालेको थियो । सोही जितको मनोबल सुदूरपश्चिमसँग रहँदा चितवन भने समूह चरणको हारको बदला लिँदै फाइनल यात्रा तय गर्ने दाउमा हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस