Techie IT
२०८२ मंसिर २४, बुधबार

खड्का निवासमा आगजनी र डाँका आरोपमा दुईजना जेल चलान, साढे ७ करोड रुपैयाँ बिगो दाबी

कुल साढे ७ करोड रुपैयाँ बिगो दाबी गरिएको छ


नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनामाथि मुद्दा चलाइएको छ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको तोडफोड तथा आगजनी घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त महाराजगञ्जले तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर–९ घर भई बूढानीलकण्ठ बस्ने ४४ वर्षीय रणबहादुर सिंह, बूढानीलकण्ठकै ३१ वर्षीय सुसम श्रेष्ठ र काभ्रे घर भई बूढानीलकण्ठ बस्ने ३९ वर्षीया रेखा सुनार (सानी सुनार) रहेका छन्।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव तथा डाँकासम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको हो। अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले रणबहादुर र सुसमलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको छ। रेखालाई भने २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ।

उनीहरूविरुद्ध कुल साढे ७ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। तत्कालीन मन्त्री खड्काका भाइ जीवन खड्काले दिएको जाहेरीका अनुसार बूढानीलकण्ठ–१ स्थित कित्ता नम्बर ५४ को साढे दुई तले घर, बा २४ च ५०७० तथा बा.प्र.–०१–०२९ च ३३०४ नम्बरका निजी गाडी, बा १ झ ८८८१ र बा १ झ ४९२८ नम्बरका सरकारी गाडी जलाइएको उल्लेख छ।

त्यसैगरी ६ तोला सुनको रानिहार, सुनका चुरा, डायमण्ड र मोतीका तीन सेट हार, ६ तोला सुनका औंठी ६ थान, मुगाको टप–औंठी सेट, सुनको तिलहरी १ थान, डायमण्ड टप ४ थान, बच्चाको ५ तोला सुनको सिक्री, नगद ५ लाख, ७ सय अमेरिकी डलर, ल्यापटप, कम्प्युटर, ब्यागलगायत बहुमूल्य सामान समेत डाँका चोरी भएर गएको दाबी जाहेरीमा गरिएको छ।

मुद्दा चलाइएका मध्ये रणबहादुर ११ वर्ष सेना सेवामा रहेर २०६८ सालमा अवकाश पाएका व्यक्ति हुन्। उनी बूढानीलकण्ठमै स्थायी बसोबास गर्दै आएका थिए। सुसम बूढानीलकण्ठमै रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए भने रेखा ज्यालादारी मजदुरी गर्दै आएकी थिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट