एमाले भोलि यी स्थानबाट बाजासहित र्याली निकाल्दैँ
नेकपा एमालेले ११औँ महाधिवेशनको उद्घाटन सत्रमा करिब दुई लाख जनसमुदाय सहभागी हुने दाबी गरेको छ। एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यका अनुसार विभिन्न जिल्लाबाट प्रतिनिधि र सहभागीहरू आइपुग्ने क्रम तीव्र बनेको छ। टाढा–टाढाबाट आउने सहभागीका लागि गाडीहरू रिजर्भ गरी प्रस्थान गरिसकिएको उनले बताए।
आचार्यका अनुसार पार्टीले सुरुआतमा पाँच लाख जनसमुदाय उतार्ने तयारी गरेको थियो। “हालसम्मको तथ्याङ्क हेर्दा न्यूनतम दुई लाख उपस्थितिको पक्का भएको छ। पूर्व, पश्चिम र उत्तरबाट आउने सवारी व्यवस्थापनलाई सुव्यवस्थित बनाइरहेका छौँ,” आचार्यले बताए।
महाधिवेशनमा करिब डेढ सय झाँकी प्रदर्शनमा आउने छन्। भक्तपुरले ५० भन्दा बढी कला, संस्कृति र परम्परा झल्कने झाँकी प्रस्तुत गर्नेछ भने काठमाडौं र ललितपुरले पनि ५०–५० झाँकी प्रदर्शन गर्नेछन्। “उपत्यकाको सांस्कृतिक पहिचान उद्घाटन जुलुसमै प्रतिबिम्बित हुनेछ,” आचार्यले भने।
भक्तपुरको सल्लाघारीस्थित खुला चौरलाई उद्घाटन स्थलका रूपमा तय गरिएको छ। काठमाडौंतर्फबाट आउने सहभागी गाडीहरू गट्ठाघरमा रोक्ने व्यवस्था मिलाइएको छ, जहाँबाट ३.१ किलोमिटर दूरी जुलुस सहित पार गरिनेछ।
पूर्वतर्फबाट आउने गाडीहरू जगातीमा रोकिनेछन्। ललितपुरतर्फका सहभागी शंखघर चोकमा भेला भएर जुलुससहित स्थलतर्फ अघि बढ्नेछन्। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार जुलुसहरू सर्भिस लेन प्रयोग गर्दै अघि बढाइनेछ र सहभागीलाई कार्यक्रमको अन्त्यसम्म सल्लाघारीमै बस्न निर्देश गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस